नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न, शरद र खुसी बने च्याम्पियन
काठमाडौं / नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ आइतबार काठमाडौंमा सम्पन्न भएको छ।
शनिबारदेखि सुरु भएको दुईदिने प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव रामचरित्र मेहता ले नगद पुरस्कार, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरे ।
पुरुष सिनियरतर्फ शरदकुमार राई प्रथम, विजय लिम्बु द्वितीय तथा विजय गुरुङ तृतीय भए। महिला सिनियरतर्फ खुसी विक ले उपाधि जित्दा समिक्षा राई दोस्रो र समिरा रानामगर तेस्रो स्थानमा रहिन्।
यस्तै, पुरुष जुनियरतर्फ अंकित विक प्रथम, अभिषेश परियार द्वितीय र सन्देश नेपाली तृतीय भए।
पुरुष तथा महिला सिनियर समूहका प्रथम, द्वितीय र तृतीय खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी जुनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्रदान गरिएको संघले जनाएको छ।

प्रतियोगितामा देशभरबाट २५० खेलाडी सहभागी भएका थिए, जसमा १५० पुरुष र १०० महिला खेलाडी रहेका थिए। पहिलो दिन छनोट चरणका खेल सम्पन्न भएका थिए भने दोस्रो दिन उत्कृष्ट खेलाडीबीच फाइनल प्रतिस्पर्धा गराइएको थियो।
यसअघि आइतबार बिहान प्रतियोगिताको उद्घाटन गर्दै सस्मित पोखरेलले काठमाडौं महानगरपालिका–५, हाँडीगाउँस्थित एम बुद्ध पार्कमा निर्माण गरिएको स्केट पार्कले स्केटिङ तथा स्केटबोर्डिङ खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले सार्वजनिक स्थानमा यस्ता खेलका लागि थप पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको बताए।

पुरस्कार वितरण समारोहमा सदस्य–सचिव मेहताले स्केट खेलको पूर्वाधार विस्तार हुँदै गएको उल्लेख गर्दै यसले खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना बढाउने बताए।

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा आयोजना भइसकेको छ। उद्घाटन तथा समापन समारोह नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।




