१८ जेष्ठ २०८३, सोमबार

क्यानाडामा पहिलो ‘नेपाल हेरिटेज डे’ भव्य रूपमा मनाइयो, ७५० भन्दा बढी नेपाली सहभागी



भ्यानकुभर, क्यानाडा/ क्यानाडाको इतिहासमै पहिलोपटक प्रान्तीय सरकारद्वारा घोषित ‘नेपाल हेरिटेज डे’ को मूल समारोह भव्य रूपमा सम्पन्न भएको छ। मे ३० मा आयोजित कार्यक्रममा ७५० भन्दा बढी नेपाली तथा विभिन्न तहका क्यानाडेली जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सर्रेको ताज पार्क कन्भेन्सन सेन्टरमा आयोजित समारोहमा नेपाली भाषा, संस्कृति, कला र पहिचानको प्रदर्शन गरिएको थियो। कार्यक्रमको आयोजना नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (एनसीएसबीसी) ले गरेको हो।

कार्यक्रममा ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड एबी, नेपालका लागि क्यानाडास्थित राजदूत भरतराज पौड्याल, संघीय सांसद सुख धालिवाल, सर्रेकी मेयर ब्रेन्डा लकसहित विभिन्न मन्त्री, प्रान्तीय सांसद र नगर काउन्सिलरहरूको उपस्थिति रहेको थियो। अल्बर्टाबाट नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरी, एनआरएनए क्यानाडा तथा नौमती बाजा टोलीको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनसीएसबीसीका अध्यक्ष राजु भट्टराईले नेपाली समुदायका हितसँग सम्बन्धित तीन प्रमुख विषय उठाएका थिए। उनले नेपाली समुदायको योगदानअनुसार क्यानाडाका विभिन्न बोर्ड तथा आयोगहरूमा नेपाली मूलका योग्य व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए।

त्यस्तै, क्यानाडामा लामो समय काम गरेका नेपाली नागरिकहरूले नेपाल फर्किएपछि पनि सहज रूपमा पेन्सन प्राप्त गर्न सक्ने गरी दुई देशबीच सामाजिक सुरक्षा सम्बन्धी कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो। उनले नेपाली नागरिकलाई भिसा प्रक्रियाका लागि तेस्रो मुलुक धाउनुपर्ने बाध्यता अन्त्य गर्न काठमाडौंबाटै पूर्ण सेवा दिने क्यानेडियन दूतावास स्थापना गर्न आग्रह समेत गरे।

कार्यक्रमका लागि उपलब्ध टिकट पूर्ण रूपमा बिक्री भएपछि धेरै नेपाली समुदायका सदस्य तथा नयाँ आएका विद्यार्थीहरूलाई सहभागी गराउन नसकिएको भन्दै आयोजकले क्षमायाचना गरेका छन्। अध्यक्ष भट्टराईका अनुसार हेरिटेज डे घोषणा भएको छोटो समयमै कार्यक्रम आयोजना गर्नुपरेकाले खुला स्थान व्यवस्थापन गर्न सम्भव नभएको थियो।

उनले आगामी वर्ष ‘नेपाल हेरिटेज डे’ लाई खुला नेपाली मेलाका रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिए। सेलरोटी, मःम, नेवारी परिकारलगायत नेपाली संस्कृति झल्काउने स्टलहरू सहित अझ ठूलो स्तरमा कार्यक्रम सञ्चालन गर्ने तयारी सुरु गरिएको उनले बताए।

अध्यक्ष भट्टराईले ‘नेपाल हेरिटेज डे’ को सफलतालाई सम्पूर्ण नेपाली समुदायको एकता, सहयोग र समर्पणको परिणाम भएको उल्लेख गर्दै यस ऐतिहासिक उपलब्धिलाई भावी पुस्ताका लागि थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार