९ जेष्ठ २०८३, शनिबार

युवा सुझावलाई नीति निर्माणमा समेट्ने सरकारको प्रतिबद्धता



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवाका आवाज, योजना र मागलाई प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

शनिबार धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम प्रदेश युवा सम्मेलन–२०२६’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सरकार अहिले नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा रहेको उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ समेटिने बताए । उनले युवाले उठाएका विषय सरकारका लागि मार्गदर्शन बन्न सक्ने धारणा राखे ।

मुख्यमन्त्री शाहले आधुनिक प्रविधिको प्रयोगले युवामा नयाँ अवसर र सम्भावना सिर्जना गरेको उल्लेख गर्दै यसको दुरुपयोगबाट उत्पन्न चुनौतीप्रति पनि सचेत रहनुपर्ने बताए । डिजिटल युगमा प्रविधिसँगै जिम्मेवारी र सचेतनाको आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले पछिल्लो समय संघीय संसद् तथा विभिन्न तहका संरचनामा युवाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै विगतमा युवाका सवालमा हुन नसकेका काम अब विस्तारै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे । प्रदेश सरकारले युवाको नेतृत्व विकास र सहभागिता सुदृढ गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

‘युवा डिजिटल स्पेशको लागि एकजुट’ भन्ने मूल नारासहित सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाका युवाको सहभागिता रहेको छ । सम्मेलनमा डिजिटल नागरिकता, युवा नेतृत्व, नीति निर्माणमा युवाको सहभागिता तथा नागरिक सहभागिता सुदृढीकरणका विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ ।

बागमती प्रदेशपछि सुदूरपश्चिममा आयोजना गरिएको युवा सम्मेलन आगामी दिनमा कर्णालीसहित अन्य प्रदेशमा पनि विस्तार गरिने जनाइएको छ । सबै प्रदेशका निष्कर्षलाई समेटेर राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने तयारी रहेको आयोजकको भनाइ छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय उपमहासचिव किरण थापाले प्रदेश सम्मेलनबाट आएका सुझाव, माग र निष्कर्षलाई समेटेर ‘सुदूरपश्चिम घोषणापत्र’ सार्वजनिक गरिने जानकारी दिए । सो घोषणापत्रमार्फत युवाका मुद्दालाई नीति निर्माण तहसम्म पु¥याउने लक्ष्य रहेको उनले बताए ।

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवीप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलन गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभियान तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा धनगढीमा सञ्चालन भइरहेको छ


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार