१४ माघ २०८२, बुधबार

निर्वाचन संस्कारतर्फ बाजुरा : ८ उम्मेदवारले गरे मर्यादित चुनावको संकल्प



मार्तडी/ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुरामा एक ऐतिहासिक पहल देखिएको छ। जिल्लाका आठ जना उम्मेदवारले शान्तिपूर्ण निर्वाचन, स्वतन्त्र मतदान र मर्यादित प्रचारका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। बिहीवार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमार्फत एक स्वतन्त्रसहित सात दलका उम्मेदवारले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरे।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै दल र उम्मेदवारहरू एकै मञ्चमा उभिनु बाजुराको चुनावी इतिहासमै सकारात्मक संकेतका रूपमा हेरिएको छ। विगतमा कडा प्रतिस्पर्धासँगै आरोप–प्रत्यारोप, तनाव र विवाद देखिँदै आएको सन्दर्भमा यो पहललाई राजनीतिक परिपक्वताको उदाहरण मानिएको छ।

संयुक्त प्रतिबद्धता पत्रमा निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान राखिएको छ। प्रचार–प्रसार शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने, उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने तथा सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धताले अघिल्ला चुनावी विकृतिप्रति आत्मसमीक्षाको संकेत दिएको छ।

यस्तै, सामाजिक शान्ति, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि सहकार्य गर्ने, कुनै पनि प्रकारका धाँधली, घुसपैठ वा अनुचित गतिविधि भए संयुक्त रूपमा अस्वीकार गर्ने, उत्पन्न विवाद आपसी संवादबाट समाधान गर्ने र निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहमति जनाइएको छ। उम्मेदवारीलाई आधार बनाएर व्यक्ति, समूह वा समुदायबीच द्वन्द्व नउत्पन्न गराउन आम मतदाता र समुदायलाई समेत अनुरोध गरिएको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर शाही, नेकपा माओवादीबाट भुपेन्द्र विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन्।

सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उम्मेदवारहरूले यो अभ्यास बाजुरामात्रै होइन, समग्र नेपाली राजनीतिका लागि असल उदाहरण बन्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सबै उम्मेदवार, विभिन्न दलका प्रतिनिधि, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, पत्रकार तथा सरोकारवालाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बाजुराका सहसचिव जनक बोहराले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार