“शंखधर साख्वाःको बाटोमा हिँड्दै असमानता र गरिबी अन्त्य गर्नु हाम्रो साझा जिम्मेवारी हो” – प्रम कार्की

मध्यपुर थिमी, कात्तिक ५ /राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजमा समानता, परोपकार र स्वाभिमान स्थापित गर्न शंखधर साख्वाःले देखाएको बाटो अनुसरण गर्न सबैलाई आह्वान गरेकी छन्।
नेपाल संवत ११४६ को शुभारम्भको अवसरमा आयोजित उक्त समारोहमा प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई “राजाको विजय होइन, जनताको कल्याण र परोपकारको संवत” भन्दै यसको ऐतिहासिक महत्वमाथि प्रकाश पारेकी थिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “शंखधर साख्वाःले ऋणको भारीले पिल्सिएका नागरिकलाई मुक्त गराई समानता र सामाजिक न्यायको अमर उदाहरण स्थापित गर्नुभयो। आज पनि हामीले गरिबी, असमानता र अन्याय विरुद्ध सोही मार्ग अनुसरण गर्न जरुरी छ।”
उनले नेपाल संवतलाई सरकारी नीतिहरूमा व्यावहारिक रूपमा लागू गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, सरकारी कागजातमा नेपाल संवत उल्लेख गर्ने निर्णयलाई प्रभावकारी बनाउने र नेपाल राष्ट्र बैंकले जारी गर्ने नोटमा समेत नेपाल संवत समावेश गर्ने विषयमा छलफल अघि बढाइने प्रतिबद्धता जनाइन्।
२०८२ भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “देशको भ्रष्टाचारविरुद्ध लड्ने युवा शक्तिको बलिदानलाई म सम्मान गर्छु। नागरिक सरकारले जनताको आवाज सम्बोधन गर्दै निष्पक्ष निर्वाचन र लोकतान्त्रिक सबलीकरणका लागि वातावरण बनाउन प्रतिबद्ध छ।”
उक्त समारोहमा उपस्थित व्यक्तिहरूलाई धन्यवाद दिँदै उनले नयाँ वर्षले सबैमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम ल्याओस् भन्ने शुभकामना व्यक्त गरिन्।







