प्रदेश सभाको अवरोध अन्त्य,अडियो प्रकरण छानविनमा सहयोग गर्ने

धनगढी/सुदूरपश्चिम प्रदेश सभा सञ्चालन गर्नका लागि सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति भएको छ । मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सो सहमति भएको हो ।
तत्कालिन उद्योग, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको घुस लेनदेन गर्ने बारेको अडियो प्रकरणमा सम्वन्धित निकायले छानविन गर्न कुनै बाधा नपुगाउने गरेर सहमति भएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताए ।
समसायिक प्रस्ताव भनेर भएको सहमतिमा अडियो प्रकरणमा सदन गम्भीर छ भन्दै सो विषयमा अख्तियार, सम्पति सुद्धीकरण, नेपाल प्रहरी, प्रशासन, राष्ट्रिय सतर्कता केन्द्रले गर्ने छानविन प्रक्रियामा सिंगो सदनको पूर्ण समर्थन रहने उल्लेख छ ।
सो प्रस्तावमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने गरेर विद्येयक पास गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिइएको छ ।

यस्तै गरेर सुदूरपश्चिममा विगतमा भूकम्प, आगलागी, डुवान, वाढीपहिरोमा भएको जनधनको क्षतिमा दुःख प्रकट गर्दे आवश्यक क्षतिपूर्ति राहतका लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
प्रदेश सभामा प्रस्तुत गरेर पास गर्ने उल्लेखित प्रस्तावको सहमतिमा भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाल, नेपाली कांग्रेसका पदमबहादुर शाही , एमालेका चक्र मल्ल, प्रतिपक्षी दलहरु माओवादीका मानबहादुर धामी, नेकपा ( एकीकृत समाजवादी) का नरेशबहादुर शाही र राप्रपाका खेमादेवी विष्टले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहको समेत उपस्थितिमा मुख्यमन्त्री कार्यालयमा भएको सहमति अनुसार प्रदेश सभाको मंगलबारको बैठकमा एमालेका चक्र मल्लले सो प्रस्ताव प्रस्तुत गर्ने र प्रतिपक्षी माओवादीका अक्कल रावल र समाजवादीका नरेशबहादुर शाही लगायतले समर्थन गर्ने हुनु भएका छन् ।
अडियो प्रकरणमा टुंगो नलाग्दासम्म बजेट अधिवेशनका लागि आव्हान भउको प्रदेश सभा बैठक चल्न नदिने अडान प्रतिपक्ष दलहरुले लिएपछि सो सहमति भएको हो । अडियो प्रकरणमा जोडिएका तत्कालिन मन्त्री चौधरीले गत महिना नै राजीनामा दिइसकेका छन् । सो मन्त्रालयमा नागरिक उन्मुक्तीकै रामेश्वर चौधरी नियुक्त भइसकेका छन् ।
अडियो प्रकरणले प्रदेश सभा सञ्चालन हुन नसकेपछि यसअघि प्रदेश सभाको अधिवेशन स्थगित गरिएको थियो ।


र, यो पनि हेर्नुस




