फेब्रुअरी महिनाः आयोडिन नूनको महिना

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हरेक वर्ष झै यसवर्ष पनि विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरी आयोडिन महिना मनाइरहेको छ ।
फेब्रुअरी महिनालाई साल्ट ट्रेडिङले हरेक वर्ष आयोडिन महिनाको रुपमा मनाउने गरेको छ । “थोरै खाऔं, सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त आयो, न्यु शक्ति र भानु नून नै खाऔं” भन्ने नाराका साथ यस वर्ष पनि आयोडिन महिना सुरु भएको हो ।
कैलालीसहित सुदूरपश्चिम प्रदेशमा पनि साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन नूनका बारेमा जनचेतना कार्यक्रम सुरु गरेको छ । साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक तेजबहादुर कुवँरले आयोडिन नूनको प्रयोग बढाउनेबारे आम उपभोक्ताहरूमा जनचेतना बृद्धि गर्न आयोडिन महिनाको रुपमा मनाउदै आइरहेको बताए ।

उनले यस कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय, हाटबजार लगायतका सार्वजनिक स्थलमा प्रचारप्रसार लगायत सचेतना कार्यक्रम गरिरहेको बताए ।
उनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका उपभोक्ताहरूलाई आयो नूनको प्रयोग बढाउन सरकारले अनुदानमा भानु नूनप्रति केजी ९ रुपैयाँमा उपलब्ध गराइरहेको बताए ।
साल्ट ट्रेडिङले प्रादेशिक कार्यालय धनगढीले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आयो नूनसम्बन्धी सचेतना फैलाउनुका साथै आयो नून लोगो भएको झोला पनि वितरण गरेको छ । साथै कार्यालयमा विद्यार्थीहरूलाई आयोडिन युक्तनूनको महत्वबारेमा प्रयोगात्मक रुपमै जानकारी गराइएको छ ।

सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाहरू अछाम, बाजुरा, दार्चुला र बझाङमा २७ स्थानमा डिपो र बिक्री केन्द्रबाट अनुदानको भानु नून वितरण गर्दै आइरहेको छ । अन्य पाँच जिल्लामा भने डिपो कार्यालयबाट आयो, न्यु शक्ति र ढीका नून व्यापारीहरूलाई उपलब्ध गराई आम उपभोक्तहरूमा विक्रीवितरण भैरहेको छ ।
गत आर्थिक वर्षमा चार पहाडी जिल्लामा वार्षिक कोटा भानु नून २५ हजार ९ सय १४ क्विन्टल नून ढुवानी भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षमा भानु नून ३१ हजार ५ सय क्विन्टल वार्षिक कोटामा २२ हजार एक सय ७० क्विन्टल ढुवानी भइसकेको छ । बाँकी ९ हजार ३ सय ३० क्विन्टल ढुवानीको प्रक्रियामा रहेको छ ।

यस्तै, आयो नून गत आर्थिक वर्षमा ४५ हजार ३ सय ५३ क्विन्टल विक्री भएको थियाे । चालु आर्थिक वर्षको १० महिनामा २४ हजार ९ सय ४६ क्विन्टल आयोे नून ढुवानी भइसकेको कार्यालयले जनाएको छ । आयो नूनको खपत गत आर्थिक वर्षभन्दा यस वर्ष १० प्रतिशतले वद्धि भएको कार्यालयले जनाएको छ ।





