७ पुष २०८१, आईतवार

सीमान्तकृतको जिविकोपार्जनमा प्रभाव पार्ने सवालमा सामुदायिक संवाद




घोडाघोडी(कैलाली)/ सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने नीतिगत, सामाजिक तथा वातावरणीय सवालहरुमा सामुदायिक संवाद कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा भएको छ । युनएनडीपीको सहयोगमा परिवर्तनका लागि कार्यरत युवा समुह (याक नेपाल)को आयोजनामा कार्यक्रम भएको हो ।

वातावरण मैत्रि अभ्यास र जैविक प्रविधिको प्रवद्र्धन, संरक्षण र समुदायको अधिकार तथा भूमिकाको विषयमा जनचेतना बढाउने, लक्षित वर्गको उपलब्ध स्रोत साधनमाथिको पहुँचका लागि वकालत तथा पैरवी गर्न क्षमता अभिवृद्धि गर्ने, समावेसी विकासको प्रवद्र्धनकालागि सरकारी तथा गैरसरकारी संघ, संस्थासंगको सहकार्य र साझेदारी विकास गर्ने लगायतको उदेश्यका साथ कार्यक्रम भएको हो ।

कार्यक्रममा समुदायका परम्परागत जिविकोपार्जनका स्रोतहरुको पहिचान गरेर सो कार्यहरुमाथि बाधा पार्ने सामाजिक वातावरणीय र नीतिगत रुपमा असर पार्ने तत्वहरु पहिचान गरेर सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गर्नका लागि छलफल गरिएको थियो ।

छलफलबाट सरकारका नीति तथा कार्यक्रमहरु लक्षित वर्गमुखी नहुने, सूचनामा लक्षित वर्गको सहज पहँच नहुने, रैथाने तथा स्थानीय वाली संरक्षणलाई प्राथमितामा नराखिने, लक्षित वर्गका लागि तोकिएका कार्यक्रमहरु प्राप्त गर्न झन्झटिलो प्रक्रिया हुने लगातका सवालहरु पहिचान भएका थिए । कार्यक्रमको सहजीकरण परियोजना अधिकृत सर्जु चौधरी र विनोदबहादुर सिंहले गरेका थिए ।

कार्यक्रममा सम्बन्धित वडाका महिला सदस्य, कृषक महासंघका केन्द्रीय सदस्य ओम आचार्य, विभिन्न सामुदायिक वनका प्रतिनिधि,घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम वम, चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरे, खाद्य अधिकार संञ्जाल घोडाघोडीका प्रतिनिधि, विद्यार्थी, शिक्षक, लगायतका अतिथि रहेका थिए ।

दिगो जिविकोपार्जनका लागि समावेसी विकास परियोजना अन्तर्गत घोडाघोडी नगरपालिकाका सिमान्तकृत समुदायका लागि सो कार्यक्रम भएको हो । कार्यक्रममा घोडाघोडी नगरपालिकाका ४, ५, ८,१० वडाका सीमान्तकृत समुदायको सहभागिता रहेको थियो ।

युएनडीपीको सहयोगमा याक नेपाल मार्फत यो परियोजना २०८१ जेठ २१ देखि यहि मंसिर अन्तिमसम्मका लागि घोडाघोडीमा लागू भएको हो । परियोजना अवधिभर लक्षित वर्गको क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण, तालिम, गोष्ठी, सम्वाद, श्रव्य दृष्य सामग्रीको सहयोग तथा प्रयोग र स्रोतकेन्द्र स्थापना गरिने परियोजनाका फोकल पर्सन तथा याक नेपालका कार्यकारी निर्देशक डवल वमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार