२६ पुष २०८१, शुक्रबार

वर्तमान र पूर्व प्रदेश सभा सदस्यबीच अनुभव आदानप्रदान



धनगढी ।सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान प्रदेश सभा सदस्यहरुबीच अनुभव आदानप्रदान कार्यक्रम गरिएको छ ।

आइतबार धनगढीमा सुदूरपश्चिम प्रदेश सभाका महिला तथा सीमान्तकृत समूहका माननीय सदस्यहरूको क्षमता सुदृढीकरण सहयोग कार्यक्रम अर्न्तगत फाया नेपालको आयोजना र युएनडिपीको सहयोग एवं सहकार्यमा अनुभव आदानप्रदान गरिएको हो ।

आइतबारदेखि सुरु भएको सो कार्यक्रम अझै तीन महिनासम्म चल्ने बताइएको छ ।

सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व सभामुख, वर्तमान उपसभामुख लगायत पूर्वमन्त्री, वर्तमान मन्त्री र पूर्व प्रदेश सभा सदस्य तथा हालका प्रदेश सभा सदस्यहरु सहभागी थिए ।

कार्यक्रममा बोल्दै पूर्व सभामुख अर्जुनबहादुर थापाले आफ्नो कार्यकालमा प्रदेश सभाले नवीन कुराहरूको सृष्टि गरेको बताए । थापाले सुरुको प्रदेश सभाले नयाँ कुराको सृजना गर्ने भएकाले अनुभव सिकाइपूर्ण रहेको दावी गरे ।

यस्तै थापाले आफू पहिलो प्रदेश सभाको सभामुख भएकाले केही अनुभव नभएको र प्रदेश सभाले नयाँ कुरा सुरुवात गरेको कुरा बताए । अहिले प्रदेश सभाको काम कर्तव्य र अधिकार नबुझ्दा यसको खारेजीको कुरा उठिरहेकोमा उनले चिन्ता व्यक्त गरे । आफ्नो कार्यकालमा कांग्रेसलाई खुसी बनाउदा प्रदेश सभा संचालन गर्न सहज भएको र प्रदेश सभालाई सफल बनाउन सकेको पूर्व सभामुख थापाको भनाइ थियो । प्रदेश सभालाई सफल तुल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

यस्तै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले पनि आफूले प्रदेश सभा सदस्य भएर काम गर्दा नयाँ अनुभव प्राप्त गरेको बताइन । उनले विशेषगरेर प्रदेश राजधानीका सवालमा धेरै पैरवी गरेको बताइन । त्यस्तै निवर्तमान प्रदेश सभा सदस्य रतन थापाले प्रदेश सभा र प्रदेश सभा सदस्यहरु पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माण र सुशासन कार्यान्वयनमा प्रदेश सभा सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री राम्श्वेर चौधरी, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सभा सदस्यहरु ललिता सुनार, खुसीराम थारु, इन्दिरा गिरी, सन्तोष थापा लगायतले प्रदेश सभा सञ्चालन सम्वन्धमा विभिन्न प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार