प्रतिनिधि सभा सदस्य चौधरी कैलाली कारागारबाट छुटे
धनगढी/ १३ वर्षअघि कैलालीको लम्कीमा ट्याक्टर जलाएको आरोपमा अदालतबाट ६ महिना कैदको सजाय पाउनु भएका कैलाली क्षेत्र नम्बर २ का निलम्वित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी आज कैलाली कारागारबाट रिहा भएको छन् ।
उनलाई जेलमुक्त भएपछि स्वागत गर्नका लागि नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरीसहित शुभचिन्तक र सर्मथकहरु उपस्थित थिए ।
प्रजातन्त्र दिवसको अवसरमा आममाफी दिएर उहाँलाई रिहा गरिएको हो । नेपाल सरकारको सिफारिस अनुसार राष्ट्रपतिले उहाँलाई आममाफी दिएपछि उहाँको रिहाइ भएको हो ।
२०६६ साल भदौ ३ गते सांसद अरुणसहितले लम्कीको धोबेनी खोला नजिक ढुंगा बोकेको एक ट्याक्टर जलाएको आरोप लागेको थियो । कैलाली जिल्ला अदालतले २०७० साल बैशाख ९ गते सांसद अरुणसहित तीन जनालाई सो मुद्दामा ६ महिना कैद र विगो वापत आठ लाख १९ हजार रुपियाँ भराउने फैसला गरेको थियो ।
तर, अरुण तथा अन्य दुई जनाले कैद भुक्तान गर्नु भएको थिएन । अरुण २०७४ सालको निर्वाचनमा लम्कीचुहा नगरपालिका मेयरमा चुनाव लडेका थिए भने सोही वर्र्ष मङसिरमा प्रदेश सभा सदस्यको उम्मेदवार पनि भए ।
प्रहरीको फरार सूचीमा रहेका उनलाई केही दिनअघि बाँके प्रहरीले कोहलपुरबाट पक्राउ गरिएको थियो । हाल उनको तर्फबाट उत्प्रेरणाको परमादेश तथा बन्दी प्रत्यक्षीकरणको मुद्दा उच्च अदालत दिपायलमा विचारधीन रहेको छ ।