स्वरोजगार कोषले शुरु गर्यो, थोक कर्जा प्रवाह कार्यक्रम
अनुमोदन समाचार
धनगढी, पुस १३ गते । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले थोक कर्जा फ्रवाह कार्यक्रम शुरु गरेको छ । मंगलबार धनगढीमा एक कार्यत्रमबीच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीले कर्जा प्रवाह कार्यक्रमको आरम्भ गरे ।
सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा “सरकारको मुख्य ध्यान : घरघरमा स्वरोजगार अभियान” अन्तर्गत वैदेशिक रोजगारबाट फर्किएका, द्वन्द्व प्रभावित, अपाङ्गता भएका व्यक्ति, घाइते, शहिद परिवार, एकल महिला, मुक्त कमैया, कम्लहरी, हलिया, दलित, वादी, राजी, राउटे, गरिबीको रेखामुनी रहेका वर्ग र समुदायका स्वरोजगार बन्न चाहने युवायुवतीलाई स्वरोजगार विकास कोषमार्फत कर्जा प्रदान गर्ने” उल्लेख छ । यस अन्तर्गत पाँच सय जनालाई सीपमूलक तालिम तथा चार हजार जनालाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा आर्थिक मामिला राज्यमन्त्री सोडारीले थोक कर्जा प्रवाह कार्यक्रमले युवा वर्गलाई स्वरोजगार बनाउन प्रभावकारी बल पुग्ने चर्चा गरे । उनले थोक कर्जा कार्यक्रमबाट युवाहरुले लाभ लिनसके सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धमा योगदान पुग्ने बताए ।
प्रदेश स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुडामणि तिमिल्सिनाका अनुसार सहकारी संस्थाहरुमार्फत स्थानीय स्तरमा स्वरोजगार तथा रोजगार सिर्जना गर्ने व्यवसायिक साझेदारीको कार्यक्रमबाट सरल कर्जा फ्रवाह गर्न कोषले यो कार्यक्रम सुरु गरेको छ ।
कार्यत्रमबारे जानकारी गराउँदै उनले भने– प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यको बुँदा नम्बर २४५ मा “सरकारको मुख्य ध्यान : घरघरमा स्वरोजगार अझियान” कार्यक्रम समावेश गरिएको छ । यो कार्यत्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्किएका द्वन्द्व प्रभावित, अपांग, घाइते, शहिद परिवार, एकल महिला, मुक्त कमैया, कम्लहरी, हलिया, दलित, वादी, राजी, राउटे, गरिबीको रेखामुनी रहेका वर्ग र समुदायका स्वरोजगार बन्न चाहने युवायुवातीलाई सीपमूलक तालिम र सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने छ ।
प्रदेश स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक तिमिल्सिनाका अनुसार थोक कर्जाका लागि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाबाट एक सय ९८ वटा सहकारीले प्रस्ताव पेश गरेका थिए । तीमध्ये मंगलबार कैलालीको मालाखेती कृषि सहकारी संस्था र कञ्चनपुरको संकल्प कृषि सहकारीलाई ८०/८० लाखका दरले एक करोड ६० लाख रुपैयाँको चेक कर्जा प्रवाहका लागि हस्तान्तरण गरिएको छ । कोषले तोकेको मापदण्डअनुसार मालाखेतीका ३९ जना र संकल्पका ३० जना सदस्यहरूलाई सो रकम मागअनुसार कर्जा प्रवाह गरिने छ ।
प्रारम्भिक अध्ययनमा एक सय २५ वटा सहकारी संस्थाले तोकिएको मापदण्ड पूरा गरेका छन् । कोषका कार्यकारी निर्देशक तिमिल्सिनाले ११ वटा सहकारीको कर्जा प्रवाह स्वीकृति अन्तिम चरणमा रहेको बताए ।
कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका उपसचिव सिद्धराज जोशीलगायतले शुझकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन माधवप्रसाद जोशीले गरेका थिए ।