२ माघ २०८१, बुधबार

संविधान मिचिने खतराका कारण गठबन्धन– देउवा



अनुमोदन समाचार
डडेल्धुरा, कार्तिक ३० गते ।
नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अझैं पनि संविधान मिचिने खतराका कारण पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपरेको बताएका छन् । सभापति देउवाले लोकतन्त्र, संविधान र संघीयताको रक्षाको मुल लक्ष्यसहित गठबन्धन गरेर निर्वाचन लड्नुपरेको बताए ।

बुधबार डडेल्धुरा र बैतडीमा आयोजना गरिएको चुनावी सभामा सभापति देउवाले भने– लोकतन्त्र तथा संविधानको रक्षाका साथै राजनीतिक स्थिरता र समृद्धिका लागि अझैं लामो समय गठबन्धनलाई निरन्तरता दिनु पर्दछ ।

उनले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेर संविधान मिच्ने प्रयास गरेको दोहोराए । भने– गत निर्वाचनमा जनताले उनीहरूलाई दुई तिहाई बहुमत दिए, तर उनले उल्टो गरे । हामीले निकै दुःख गरी बनाएको नयाँ संविधान मिचेर मुलुकमा पुनः राजनीतिक अस्थिरता निम्त्याउन खोजियो ।

बैतडीको तल्लो स्वराडमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले पञ्चेश्वर परियोजना कार्यान्वयन हुने दाबी गरे । उनले भने– पञ्चेश्वर परियोजनाबारे भारतीय प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । अब यसको काम छिट्टै अघि बढ्छ । उनले पश्चिम सेती परियोजनाको पनि सम्झौता भएर काम अघि बढिसकेको बताए ।

नेपालका प्रथम महिला मन्त्री स्वर्गीय द्वारिकादेवी ठकुरानीको स्मरण गर्दै उनले भने– बैतडीको तल्लो स्वराड उहाँको कर्मथलो थियो । यो क्षेत्रमा आउँदा निकै गौरव महसुस हुन्छ ।

प्रधानमन्त्री देउवाले उग्रतारा–मेलौली सडक कालोपत्रे कार्य अघि बढिसकेको बताए । उनले पाटन–पञ्चेश्वर सडक, पञ्चेश्वर परियोजना, महाकाली नदीमा पुल, झुलाघाटमा पक्कीपुल, सुर्नया नदीमा पक्कीपुल निर्माण गरिने बताए ।

चुनावी सभामा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले पनि मन्तव्य व्यक्त गरेका थिए ।

बुधबार नै गृह जिल्ला डडेल्धुराको विभिन्न स्थानमा आयोजित चुनावी सभामा सभापति देउवाले सदरमुकाम बागबजारदेखि बगरकोट–शीर्ष–रुपाल सडक कालोपत्रे र बगरकोट–बोकटा–गर्खा–लामिकाँडे सडक कालोपत्रे गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार