२ माघ २०८१, बुधबार

सामुदायिक बनका तीन पदाधिकारीहरूमाथि लाखौको भ्रष्टाचार मुद्दा




गलत लेखापरीक्षण प्रतिवेदन बनाउने अडिटर पनि तानिए
धनगढी/ सामुदायिक बन उपभोक्ता समितिको आम्दानी रकम हिनामिना गरेको आरोपमा कैलालीको चुरे गाउँपालिका–१, निगालीमा रहेको गुप्तपानी सामुदायिक बन समितिका अध्यक्षसहित तीन जनामाथि भ्रष्टचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो सामुदायिक बन समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट र कोषाध्यक्ष पृथ्वीराज बिष्टमाथि साढे ४३ लाख रुपैयाँ बढीको भ्रष्टाचार गरेको आरोपमा विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

त्यस्तै, सो सामुदायिक बनको गलत लेखापरीक्षण प्रतिवेदन बनाएको आरोपमा एक लेखापरीक्षकलाई कैद र जरिवानाको मागदाबी गरिएको छ ।

आयोगले सो समितिका तत्कालीन अध्यक्ष आचार्यले सचिव र कोषाध्यक्षसँगको मिलेमतोमा सामुदायिक बनको आम्दानी रकम बदनियतपूर्वक नक्कली बिलभरपाई देखाएर हिनामिना गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ– सामुदायिक बनका तत्कालीन अध्यक्ष आचार्यले सामुदायिक बनको आम्दानी रकम हिनामिना गरेको भ्रष्टाचार निवारण ऐन २०६९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो २५ लाख २४ हजार रुपैयाँ कायम गरी बिगो बमोजिमको जरिवाना र कैद सजाय हुन र हानीनोक्सानी गरेको बिगो रकम निजबाट असुलउपर हुन समेतको मागदाबी लिइएको छ ।

त्यस्तै, सो सामुदायिक बनका तत्कालीन सचिव भाट र कोषाध्यक्ष बिष्टले सामुदायिक बन समितिको निर्णय एवं कार्ययोजना पास नै नभएको अवस्थामा समितिको रकम चेक बनाएर अध्यक्षलाई दिने र औचित्य एवं बिना बिलभरपाई रकम हिनामिना गर्ने कार्यमा सहयोग गरेको कसुर पुष्टि हुन आएकोले दुवै जनालाई १८ लाख ३८ हजार रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगको विज्ञप्तीमा दुवै जनालाई मुख्य प्रतिवादी आचार्य सरहको सजायको मागदाबी लिइएको उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो घटनामा लेखापरीक्षक गौरिप्रसाद नाथले बदनियतपूर्वक भएगरेका कुरा लुकाईछिपाई नभएको कुरा उल्लेख गरी लेखापरीक्षण प्रतिवेदन पेस गरेर सामुदायिक बन उपभोक्ता समितिको रकम हिनानिा गर्न सहयोग गरेको आरोप लगाउँदै कैद तथा जरिवानाको माग गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार