पुष्पलाल स्मृति दिवस मनाइयो
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवस बुधबार कैलालीमा विभिन्न कार्यक्रम सहित मनाइएको छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा धनगढी, टीकापुर, लम्की र भजनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ शान्ति सामुदायिक वनमा बृक्षारोपण गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, पुष्पलाल मित्रता केन्द्रका सदस्य खडक रावत, नेकपाका जिल्ला सदस्य विमलप्रकाश जोशी, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी, जिल्ला सदस्य दीर्घराज जोशी कापडी, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बलबहादुर ऐर लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, कैलाली बहुमुखी क्याम्पस परिसरमा पनि वृक्षारोपण गरिएको थियो । भने टीकापुरमा विचारगोष्ठी आयोजना गरिएको थियो ।
टीकापुर र जानकीमा पुष्पलाल स्मृति दिवस
कैलालीको टीकापुर नगरपालिका र जानकी गाउपालिकामा बुधबार ४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा तथा रक्तदान कार्यक्रम गरिएको छ ।
पुष्पलाल मित्रता केन्द्रको आयोजनामा श्रद्धाञ्जली सभा तथा रक्तदान कार्यक्रम गरिएको थियो ।
कार्यक्रम जिल्ला कमिटी सदस्य श्याम खत्रीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नेकपा प्रदेश कमिटी सदस्य प्रेम साउद, पुष्पलाल मित्रता केन्द्रका जिल्ला सदस्य सुर्यचन्द्र भटराई, जिल्ला सदस्य भैरव रावल, लक्ष्मी अधिकारी, कमला केसी, नगर सदस्य भिमराम चपाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । नेपाल रेड्क्रस सोसाइटी टीकापुर उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।
त्यसैगरि जानकी गाउपालिका, दुर्गौलीमा श्रद्धाञ्जली सभा भएको छ ।
नेकपा जानकी गाउकमिटि अध्यक्ष बप्पल रावतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा नेकपा प्रदेश कमिटि सदस्य दानबहादुर विक, जिल्ला उपसचिव टेकबहादुर बम, जिल्ला सदस्य तीर्थराज उपाध्याय, ललित ताम्राकार, जगत बहादुर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।