७ कार्तिक २०८१, बुधबार

पुनर्बासमा सलह किराको ठुलो झुण्ड



धनगढी । कञ्चनपुरको पुनर्बास नगरपालिकामा सलह किराको ठुलो झुण्ड देखिएको छ। बिहिबार नगरपालिकाको वडा नम्बर ११ विकास बस्ती क्षेत्र आसपासमा सलहको झुण्डा देखापरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। 

कृषि बालीलाई सखाप पारी अनिकाल निम्त्याउन सक्ने सलह देखापरेको खबर प्राप्तभएपछि स्थलगत अनुगमनका लागि कृषि ज्ञान केन्द्रको टोलीलाई रमाना गरिएको प्रशासनले जानकारी दिएको छ। 

साथै प्रशासनले सलहको समूह उक्त स्थानबाट पश्चिमी दिशातर्फ अगाडि बढेको भन्दै कृषक तथा सर्वसाधारणलाई सतर्क रहन अनुरोध समेत गरेको छ। 

यी फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने गर्छन भने एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुन्छन्। फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन्।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार