डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका २ की ३० वर्षीया महिलाको मृत्यु भएको हो।
मंगलबार राति शौचालय गएकी महिला बेहोसको र लगत्तै मृत्यु भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षण धनबहादुर विष्टले जानकारी दिए।
‘मंगलबार राति शौचालय गएको बेला उहाँ बेहोस हुनु भएछ। उहाँ काप्दै हुनुहुन्थ्यो भन्ने बुझिएको छ। उहाँमा काप्ने लक्षण देखिएको रहेछ’ उनले भने, ‘पछि गाउँबाट धामीझाँक्री आएको भन्ने बुझिएको छ। पछि लगत्तै उनको मृत्यु भएको हो।’
उनका अनुसार चार दिन अघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका १ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्।
राति बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले पनि नछोएको स्रोतको भनाइ छ। रातिबाटै गाउँका नागरिकहरु क्वारेन्टाइन नजिक आगो बालेर बसे पनि एम्बुलेन्समा राख्न कसैले नमानेको बताइएको छ।
एम्बुलेन्स चालकले पनि स्वास्थ्य सुरक्षाका सामग्री नबोकेकाले हात नलगाएको जनाइएको छ। अहिले स्वास्थ्यकर्मीको टोली घटना स्थल गएको र उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।
गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले आफू घटनास्थल तर्फ गइरहेको र एक घन्टापछि मात्रै विस्तृतमा जानकारी दिने बताए।




