११ पुष २०८१, बिहीबार

सडक खन्ने र स्थानीयबीच झडप घटना : डोजरले महिलामाथि आक्रमणको भिडियो सार्वजनिक



बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न् गएको डोजरलाई रोक्न खोज्ने महिलामाथि डोजरले नै आक्रमण गरेको तथ्य फेला परेको छ । सोमबार भएको घटनामा डोजरले महिलामाथि गरेको आक्रमणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सो सडक खन्न गएको डोजरलाई धपाउन गएका स्थानीय र डोजर, निर्माणकर्ताबीच झडप हुदा एक महिलासहित १० जना घाइते भएका छन् ।
सार्वजनिक भएको भिडियोमा डोजरले स्थानीय गौरी जोशीमाथि आक्रमण गरेको देखिन्छ । डोजर धपाउन गएका पुरुषहरूले डोजरमाथि ढुंगा प्रहार गरिरहेको समेत भिडियोमा देखिएको छ । झडपमा गम्भीर घाइते गौरीलाई उपचारका लागि धनगढी पठाइएकाmे छ । अन्यकोे बैतडी जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
घटनापछि प्रहरीले डोजर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बैतडीको देहिमाण्डौ गिरेगाडा सडक खण्डको सुन्नाखान हुदै दशरथ चन्द नगरपालिका वडा नम्बर ९ पार्स जाने ग्रामीण सडक खन्न गएको डोजरलाई सडकमा जग्गा पर्ने व्यक्तिहरूले रोक्न खोज्दा झडप भएको उपभोक्ता समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए ।

सडक खन्दै गरेको डोजर अघिल्तिर जम्मा भएका महिलालाई डोजरले हुत्याएर फाल्दा स्थानीयले डोजरमाथि ढुङ्गा प्रहार गरेर सिसा फुटाई दिएका थिए ।

उपभोक्ता समितिका अध्यक्ष केशव जोशीले दशरथचन्द नगरपालिकाले पछि मुल्यांकन गरेर भुक्तानी गर्ने भनेपछि सडक खन्न डोजर मगाएको बताए ।
सडक निर्माणमा विवाद भएपछि काम रोक्न भनिए पनि उपभोक्ता समितिले आफूखुशी सडक खनेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् ।
स्थानीय दुर्गादत्त जोशीले गत चैत महिनामै जिल्ला प्रशासन कार्यालयमा जथाभावी सडक खन्ने काम रोकिपाऊ भन्दै निवेदन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार