हावाहुरी पीडितद्वारा वडा कार्यालयमा तालाबन्दी
धनगढी । धनगढी उपमहानगरपालिकाले राहत वितरणमा ढिलाई गरेको भन्दै हावाहुरी पीडित स्थानीयहरूले मंगलबार वडा नम्वर १२ को वडा कार्यालयमा तालावन्दी गरेका छन् ।
गत जेठ २३ गते रातीको हावाहुरीले उठिवास लगाउदा पनि राहतको नाममा त्रिपालसम्म पनि नपाएको भन्दै स्थानियहरू आक्रोसित बनेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी ६० बर्षीय छल्ला लुहारले दुई महिना बित्दा पनि राहत पाउन नसकेको बताइन् ।
उपमहानगरपालिकाले वितरण गरिरहेको राहत तालिकामा वास्तविक पीडितको नाम नभएको भन्दै आक्रोसित स्थानीयले वडा कार्यालयमा तालावन्दी गर्नुपरेको बताए ।
वडा कार्यालयमा राहत वितरण गर्न गएको टोलीले भेदभाव गरेको भन्दै उनीहरुले मंगलबार नै धनगढी उपमहानगरपालिकाको कार्यालय पनि केही बेर घेराव गरेका थिए ।