७ पुष २०८१, आईतवार

सुदूरपश्चिममा मानव सेवा आश्रम



धनगढी । सुदूरपश्चिम प्रदेशमा मानव सेवा आश्रमको शाखा सञ्चालनमा ल्याइएको छ । मानव सेवा आश्रमको मंगलबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे ।
सो अवसरमा सामाजिक विकास मन्त्री सुवेदीले घरबारबिहिन, बेसहारा तथा असहाय नागरिकको जीवन रक्षाका लागि प्रदेश सरकार कटिवद्ध रहेको बताए । उनले भने– प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत असहाय, अनाथ र घरबारबिहीनहरूका लागि विशेष कार्यक्रम ल्याउने छ । उनले बेसहारा तथा अनाथ व्यक्तिको जीवन रक्षाका लागि प्रदेश सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने बताए ।मन्त्री सुवेदीले एउटै उद्देश्य सहित खुलेका विभिन्न संघ/संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । भने– हाम्रो प्रदेशमा दृष्टि फाउण्डेसन, असहायका लागि सहारा घर, बैजनाथ लगायतका छ/सात वटा संस्थाहरू क्रियाशीला छन् । सबैको एउटै उद्देश्य छ, तर घर मात्रै फरक छन् । मन्त्री सुवेदीले असहाय, बेसहारा, घरबारबिहिन तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको जीवन रक्षाका लागि सबै संस्थाबीच सहकार्य गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मानवसेवा समान उद्देश्य बोकेका संस्थाहरूबीच एकता र सहकार्य भए स्थानिय तहलाई योजना बनाउन सहज हुने बताए ।नगर प्रमुख वडले धनगढीलाई मानवीयताको शहर बनाउने निर्णय गरिएको दोहोर्याए । उनले सामाजिक सेवाको काममा प्रदेश र स्थानीय तह एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले भने– प्रदेश सरकारले स्थानीय तहलाई दिँदै आएको सशर्त शिर्षकको बजेटमा सामाजिक कार्यका लागि निश्चित गुरुयोजना बनाउनु आवश्यक छ ।आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपालप्रसाद अर्याल, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर, नेकपाका नेता रणबहादुर चन्द, शिवपुरी धामका सचिव शिद्धराज पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम आश्रमकी सुदूरपश्चिम प्रदेश संयोजक सिर्जना ओलीले सञ्चालन गरेकी थिइन् ।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई घरबारविहिन, बेसहारा तथा जीवन जोखिममा रहेका मानवरहित नेपाल निर्माण गर्ने अठोट लिएको प्रदेश संयोजक ओलीले बताइन् ।
संस्थाका अनुसार एक हजार आठ सय बढी घरबारविहिन, बेसहारा तथा परित्यक्त नागरिकलाई सेवा गरिसकेको छ भने हाल छ वटा प्रदेशका १२ जिल्लाका १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
मनवसेवा आश्रमले पाँच महिना अघि अनौपचारिक रुपमा सुदूरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याएको थियो । हाल यस शाखामा १८ जना बेसहाराहरूले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार