६ पुष २०८१, शनिबार

लोकमार्ग विधेयक पारित



धनगढी । सुदूरपश्चिम प्रदेश सभाले प्रदेशको लोकमार्ग विधेयक, २०७५ पारित गरेको छ । प्रदेश सभाको बिहीबारको बैठकले सो विधेयक पारित गरेपछि सुदूरपश्चिममा सडकहरूको वर्गीकरण गर्ने बाटो खुलेको बताइएको छ ।
सडक वर्गिकरण नहुँदा सुदूरपश्चिमका कुनै सडक आयोजनामा तीनै तहका सरकारले बजेट हाल्ने र कुनै सडक आयोजनामा एकले अर्काको आश गर्दा बजेट नै नपर्ने खालका समस्या रहेका थिए । प्रदेश लोकमार्ग विधेयक पारित भएपछि सुदूरपश्चिम सडक निर्माण सम्बन्धी समस्या समाधान हुने प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले प्रतिक्रिया दिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट पेश भएको सो विधेयकमाथि दफावार छलफलपछि बुधबार प्रदेश सभामा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेश सभा बैठकमा प्रतिवेदन पेश गरेको थियो ।
समितिको प्रतिवेदनमाथि छलफल गरी प्रदेश सभाले विधेयक पास गरेको हो । छलफलका क्रममा प्रदेश सांसदहरूले उठाएका प्रश्नहरूको भौतिक पूर्वाधार विकास मन्त्री बोहराले जवाफ दिएका थिए ।
बैठकमा सभामुख अर्जुनबहादुर थापाले अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले मूल विधेयकमाथि गरेको संशोधनका बुदाहरूलाई विधेयकको अंग बनाउन भौतिक पूर्वाधार विकास मन्त्री बोहराको प्रस्तावलाई निर्णयार्थ पेश गरेका थिए । सो प्रस्ताव पारित भई संशोधित बुदा समेत विधेयकको अंग बनेपछि विधेयक प्रदेश सभाले सर्वसम्मतिबाट पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार