२१ बैशाख २०८१, शुक्रबार

मुक्त कमैया शिविरमा बहुविवाह तथा बाल विवाह बढ्दो



धनगढी । कैलालीको कैलारी गाउपालिकाकी एक जनाले श्रीमतीको बहिनी नाता पर्ने महिलालाई श्रीमतीको रुपमा भित्र्याए । उनले श्रीमान्माथि बहुविवाहको मुद्दामा उजुरी गर्न खोजिन् । तर, उनकै नातेदार, वडा सदस्य र अन्य सरोकारवालाहरुले उनलाई उजुरी गर्न दिएनन् । उनीहरुले आफ्नै बहिनी भएकाले उनलाई मिलेर बस्न दवाव दिए । उनले पनि सबैको सल्लाह अनुसार मिलेर बसिन् । तर, पछिल्लो समय श्रीमान्ले कुटपिट गर्न थालेपछि उनले प्रहरीमा जाने विचार गरिन् । नौ महिना वितिसकेको हुनाले उनले बहुविवाह मुद्दामा दिने हदम्याद सकिएको छ ।

कैलालीकै चुहाको एक मुक्त कमैयाका शिविरकी १६ वर्षीया युवती भागेर विवाह गरिन् । गाउकै एक युवाले उनलाई भगाएर लगेका थिए । तर ती युवतीका अभिभावकले बालविवाहको विरुद्धमा उजुरी गरेनन् । छोरी भगाएर लग्ने युवाले युवतीको बुवालाई गाली गरेपछि मात्रै प्रहरीमा उजुरी हाल्ने प्रयास गरियो । प्रहरीले युवतीलाई अभिभावकको जिम्मा लगायो, तर पनि उनीहरु फेरि भागेर गए ।
धनगढीका एक पुरुषले घरमा श्रीमती भए पनि अर्को विवाह गरे । उनले पहिलो श्रीमतीसंग औपचारिक विवाह नगरे पनि छोरी जन्माएका छन् । पहिलो श्रीमतीले श्रीमान्ले कान्छी ल्याएपछि केहि नगरे पनि कान्छी श्रीमतीलाई आफ्नो नामको नागरिकता बनाइदिन लागेपछि उनी श्रीमान्को विरोधमा उत्रिइन् । उनले माइतीबाट बुवा र बहिनीलाई बोलाएर श्रीमान्लाई खुर्सानी दलेर प्रहरी कार्यालयसम्म पु¥याइन् । प्रहरीले उनका श्रीमान्लाई कान्छीबाट अलग्यायो । तर उनका श्रीमान्ले कान्छी श्रीमती लिएर वेपत्ता भए ।
पछिल्लो समयमा कैलालीका मुक्त कमैया शिविरहरुमा दोस्रो विवाह र बालविवाहको घटना बढेको छ । मुक्त कमैया महिला विकास मञ्चले कैलालीका स्थानीय तहमा हिंसा न्युनिकरण सञ्जाल गठन गर्दा धेरै ठाउमा दोस्रो विवाह र वालविवाहका घटना आएको जनाएको छ ।
मञ्चकी अध्यक्ष कौशिला चौधरीले राति झगडा हुने, दिउसो मन नमिले पनि अनुहारले मिल्ने अवस्था रहेको भेटिएको बताइन् । उनले यस्ता घटनाका कारणले विभिन्न शिविरमा पूर्व कमलहरीहरुले आत्महत्या गरेको भेटिएको बताइन् । उनले न्यायका लागि जाने ठाउ नपाएपछि महिलाहरुलाई आत्महत्या गर्ने सोच आएका घटना भेटिएको बताइन् । उनले शिविरका हिंसा पीडित महिला मध्ये धेरैले अंश मुद्दा लडिरहेको बताइन् ।
मञ्चले कैलालीको मोहन्याल गाउँपालिका बाहेकका १२ वटा स्थानीय तहस्तरीय र एउटा जिल्लास्तरीय हिंसा न्युनिकरण सञ्जाल गठन गरको छ । सञ्जालमा मुक्तकमैया, पूर्वकमलहरी, सिमान्तकृत वर्ग र समुदायका महिलाहरु सहभागी छन् ।
सञ्जालकी जिल्ला सचिव गीता चौधरीले जिल्ला र स्थानीय तहस्तरमा गठन गरिएको सञ्जालमा एक सय ५७ जना महिला आवद्ध रहेको बताइन् । उनले स्थानीय तहमा हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरी सञ्जाल गठन गरिएको बताइन् । उनले कार्यक्रममा आठ सय ६१ जना महिला तथा पुरुषहरुलाई हिंसा, सुरक्षा, घटनाको उजुरी, समाधान प्रक्रिया र न्याय प्रणालीको बारेमा जानकारी दिएको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका महिला सेल प्रमुख प्रहरी नायव निरीक्षक खेमराज पन्तले घटना भएपछि समयमा उजुरी गर्न आउनुपर्ने बताए । उनले कतिपय उजुरी हद म्याद सकिएपछि आउनाले हिंसा पीडित महिलाले न्याय पाउन नसकेको बताए । हिंसा न्युनिकरणका लागि काम गर्दा कानुनलाई नै हातमा लिने गरी काम गर्न नहुने बताउँदै उनले घटना बढ्न नदिन सहजीकरण गर्न आवश्यक रहेको बताए ।
ओरेक नेपालकी जिल्ला संयोजक विनु रानाले हिंसा न्युनिकरण गर्नका लागि महिलाहरुले आफ्नो बोली सुधार गर्न आवश्यक रहेको बताइन् । कानुनी सहायता केन्द्र धनगढीका अधिवक्ता देवीलाल चौधरीले कानुनको विषयमा थोरै भएपनि जानकारी लिनुपर्ने आवश्यक रहेको बताए । उनले कानुनको बारेमा जानकारी भएमात्रै घटना भएपछि अदालत जाने वा स्थानीय तहमा गएर घटना समाधान हुन्छ भन्ने थाहा पाउन सकिने बताए ।
गोदावरी गाउँपालिका वडा नम्बर ८ की सदस्य तथा जोनापुर गाउँकी भल्मन्सा वडामा घटनाहरु भएपछि घटनाको प्रकृति हेरेर पहिलो पटक गाउँमै मेलमिलापको प्रयास गर्ने गरेको बताइन् । उनले मेलमिलापबाट नमिलेपछि प्रहरीमा पठाउने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार