‘छिमेकी रावलले निर्मलाको हत्या गरेको स्वीकारे’
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको प्रहरीलाई बयान दिएका छन् ।
केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बयान दिदै हत्या स्वीकार गरेका हुन् । बुधबारराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबीले बताएको छ ।
सीआईबीले रावलसंग राति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो । सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् । घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट शुक्रबार आउने सिआईबीले जनाएको छ ।
निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयम्को उपस्थितिमा आरोपितको बयान लिने क्रम सुरु भएको हो । रावलसंगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । निर्मलाका छिमेकी आरोपी रावलका बुबाआमा भारतमा बस्दै आएका छन् । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।
रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । बुधबार रातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए । सीआईबीले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ ।