३ माघ २०८१, बिहीबार

जीपमा सिट घटाएपछि यात्रीलाई सास्ती



बैतडी । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जीपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जीपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।
सवारीसाधन सञ्चालकले नियमविपरीत जीपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जीपका सिट झिक्न लगाएको थियो । यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ ।
एउटा जीपमा पाँच जना मात्र बोक्न पाइने भएपछि आवतजावत गर्न निकै मुश्किल भएको दशरथचन्द नगरपालिका–४ का चन्द्रप्रकाश लोहिया बताउँछन् । “गाडी कुर्दाकुर्दै दिन बित्छ,” उनले भने, “बसपार्कबाटै जीप नचढे यात्रा गर्नै सकिन्न ।” सवारीसाधान नपाएपछि घन्टौं हिँडेरै यात्रा गर्नुपर्ने सुर्नया–३ की पवित्रा भट्ट बताउँछिन् । जीपले चर्को भाडा असुल्ने गरेको उनको भनाइ छ ।
गोकुलेश्वरदेखि गन्नासम्मको भाडा १ सय रुपैयाँ भएपनि अहिले २ सय ५० रुपैयाँसम्म लिने गरेको स्थानीयवासी गंगासागर जोशीको गुनासो छ । सीमित मात्रामा चल्ने जीपले यात्रु महंगो भाडा तिर्न बाध्य भएको जोशीको भनाइ छ ।
उता प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बढी भाडा असुल्नेलाई कारवाही गरिने बताए । सम्भावित दुर्घटना न्यूनीकरण गर्न थप गरिएका जीपका सिट हटाउन लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए ।
पाँच सिट क्षमताको जीपमा १५ जनासम्म यात्रुसँगै सामान बोक्दा दुर्घटना धेरै हुने गरेको उनको भनाइ छ । पहिला दुर्घटना हुँदा यातायात कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था भए पनि अहिले सरकारले यातायातमा सिन्डिकेट हटाएपछि दुर्घटनामा परेका यात्रुले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार