१४ कार्तिक २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश राजधानी : निर्णय विरुद्ध अदालतमा रीटमाथि रीट



धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानीबारे प्रदेश सभाले गरेको निर्णयलाई चुनौति दिँदै सर्वोच्च अदालतमा रीटमाथि रीट दायर भइरहेका छन् ।
पछिल्लो पटक अधिवक्ता मनिषकुमार श्रेष्ठले असंवैधानिक तथा अवैज्ञानिक ढंगले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा तोकिएको भन्दै सर्वोच्चामा रिट दर्ता गराएका छन् ।
यसअघि गत असोज २२ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी अधिवक्ता देवीकुमारी जोशीले प्रदेश सभाबाट गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
अधिवक्ता जोशीले रिट निवेदनमा सुदूरपश्चिम प्रदेश सरकारले चुरे भावर र मोहना जैविक मार्ग मासेर गोदावरीमा प्रदेशको राजधानी बनाउन लागेकोमा खारेजीको माग गरेकी छन् ।
अधिवक्ता जोशीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा र प्रदेशको नामांकन तथा स्थायी राजधानी निर्धारण सुझाव समितिका संयोजक तारा लामा तामांगलाई प्रतिवादी बनाइएको छ । भने नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
सो रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित विभिन्न निकायको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।
त्यस्तै, अधिवक्ता श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरिएको स्थान (गोदावरी) मा पूर्वाधार निर्माण नहुने अवस्था रहेकाले विपक्षीका नाममा उत्प्रेषण, परामदेश जारी गराउन आग्रह गरिएको छ ।
प्रदेश सभाले असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम र राजधानी घोषणा गरेको थियो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने गोदावरी तेघरीको जंगलमा प्रदेशको राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । सो दिनको प्रदेश सभा बैठकको कामकारवाहीमा प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरूले बहिस्कार गरेका थिए ।
सभामुख अर्जुनबहादुर थापाले नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा प्रदेशको नामांकन र राजधानी बारे सुझाव दिन पाँच सदस्यीय विशेष समिति गठन गरेका थिए । समितिले बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सभाले बहुमतका आधारमा सो प्रस्ताव पारित गरेको थियो ।
राजधानी तोकिएको गोदावरी तेघरीमा तीन सय ४१ हेक्टरको क्षेत्रफलमा बाक्लो जंगल रहेको छ । गोदावरी तेघरी महत्त्वपूर्ण जैविक मार्ग, जलाधार क्षेत्र तथा वातावरणीय तथा धार्मिक दृष्टिले निकै संवेदनशील मानिन्छ ।
प्रदेश सभाबाट बहुमतका आधारमा प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गरिएपछि धनगढी, डोटीमा केही दिन चर्को आन्दोलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार