विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय अपांग दिवश मनाइयो
धनगढी/लम्की । ‘अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशीकरण र समानताको सुनिश्चितता’, ‘मलाई गणना गर, मलाई समावेश गर’ नाराका साथ सोमबार विभिन्न कार्यक्रमसहित २७ औं अन्तर्राष्ट्रिय अपांग दिवस मनाइयो ।
दिवसका अवसरमा र्याली, गोष्ठी, विभिन्न प्रतियोगिता सहितका कार्यक्रम आयोजना गरिए ।
सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपांग महासंघ प्रदेशको समन्वय र विभिन्न संघसंस्थाको सहयोगमा धनगढीमा र्याली तथा गोष्ठी भएको थियो ।
धनगढीमा बाजागाजासहित निकालिएको र्यालीमा अपांगताको हकअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा उल्लेख्य संख्यामा अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
र्यालीपछि आयोजित सभामा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अपांगता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको बताए । मन्त्री सुवेदीले अपांगता भएका व्यक्तिका लागि सहायक सामग्री खरिद तथा वितरणमा ४० लाख रुपैयाँ खर्च गरिने बताए ।
“अपांगता भएका व्यक्तिहरूको उत्थान एवं सामाजिक पुनस्र्थापनाका साथै सबै प्रकारका भेदभाव अन्त्य गरी सामाजिक न्याय तथा मानवअधिकारको संरक्षण, सम्वद्र्धन सुनिश्चित गर्नेतर्फ प्रदेश सरकार प्रतिवद्ध छ” कार्यक्रममा मन्त्री सुवेदीले भने– “अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य प्रवद्र्धन गर्न नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने र दुर्गम क्षेत्रमा विशेष सेवा दिन एकीकृत घुम्ति शिविर सञ्चालन गर्नेछौं ।”
मन्त्री सुवेदीले सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा अपांगता भएका व्यक्तिहरूको सहयोगका लागि हेल्पडेस्क सञ्चालन गर्ने, सहायक सामग्री वितरण, स्रोत विद्यालयको स्तरोन्नती, अपांगता सम्बन्धी नीतिको प्रचारप्रसार, गर्भमा भएका बच्चाको अपांगता पहिचान सम्बन्धी तालिम, परीक्षण लगायतका कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले अपांगता भएका व्यक्तिहरूको क्षमता र दक्षता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताइन् । अपांगता भएका व्यक्तिमध्ये पनि महिलाको अवस्था अझ दयनीय र चुनौतिपूर्ण रहेको चर्चा गर्दै उपप्रमुख मिश्रले भनिन्– “अपांगता भएका व्यक्तिहरूसहित कुनै पनि कारणले सीमान्तकृत भएका व्यक्ति तथा समूहको उत्थानका लागि गर्नुपर्ने कल्याणकारी कार्यको नेतृत्व प्रदेश सरकारले बहन गर्दा बढी प्रभावकारी र उपलब्धिमूलक हुने छ ।”
उनले अपांगता भएका व्यक्तिहरूको उत्थानका लागि सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरण आवश्यक रहेको चर्चा गरिन् ।
सो अवसरमा समाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले आगामी वर्ष मन्त्रालयले अपांगता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक अवस्थासहित श्वेतपत्र जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इञ्चार्ज मानबहादुर साउँदले २०६८ सालको राष्ट्रिय जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा अपांगता भएका व्यक्तिहरूको संख्या ७८ हजार रहेको र कैलालीमा १५ हजारको हाराहारीमा रहेको बताए ।
प्रदेश इञ्चार्ज साउँदले प्रदेशमा अपांगता भएका व्यक्तिहरूका लागि पुनस्र्थापना केन्द्र स्थापना, प्रदेश तथा स्थानीय तह स्तरीय अपांग समन्वय समिति गठन, सामाजिक भत्ताको बृद्धि लगायतका पक्षमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गरे ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका प्रदेश अध्यक्ष उपेन्द्रबहादुर खडायतले अपांगता भएका व्यक्तिहरूका लागि लोकसेवा सहित राज्यका कुनै पनि संरचनामा आरक्षण कोटा बृद्धि गर्न माग गरे ।
उनले स्थानीय तहबाट लक्षित समूहका लागि विनियोजन गरिने बजेटमा अपांगता भएका व्यक्तिहरूका लागि निश्चित प्रतिशत छुट्याउन पनि माग गरे ।
कार्यक्रम सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत पंकजाकुमारी जोशीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा पत्रकार मनमोहन स्वाँर, राष्ट्रिय अपांग महासंघका निवर्तमान प्रदेश अध्यक्ष भीमबहादुर शाह, नेपाल अपांग संघ, कैलालीका अध्यक्ष दीपकराज भण्डारी, नेपाल बहिरा संघका केन्द्रीय सदस्य दिनेश पनेरू, नेपाल दृष्टिबिहीन संघका केन्द्रीय सदस्य रूपा राई, शिक्षक बलबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम महासंघका प्रदेश सदस्य अनिलकुमार मल्लले सञ्चालन गरेका थिए ।
उता, लम्कीचुहा नगरपालिका, भल्कामा अन्तर्राष्ट्रिय अपांग दिवस मनाइएको छ ।
लम्कीचुहा नगरपालिकाकाको सहयोग तथा अपांग चेतना समाजको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख महादेव बजगाईले अपांग विद्यार्थीका लागि नि:शुल्क पठनपाठनको व्यवस्था गरिने बताए ।
कार्यक्रममा नगर उपप्रमुख टीकादेवी थापाले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।
दिवशको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।
पत्रकार स्वाँर सहित दुई सम्मानित
अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा पत्रकार मनमोहन स्वाँर सहित दुई जनालाई सम्मान गरियो ।
धनगढीमा आयोजित कार्यक्रममा अनुमोदन दैनिकका सम्पादक समेत रहेका पत्रकार स्वाँर तथा जेहेन्दार छात्रा तुलसी वोहरालाई सम्मानित गरियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी तथा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस्तै, दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएका विभिन्न प्रतियोगितामा विजेता (अपांगता भएका खेलाडी) लाई पुरस्कृत गरियो ।
सो अवसरमा वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय बनेका नैनसिंह राना, सविता चौधरी र नरेन्द्र विष्टलाई पुरस्कार प्रदान गरियो ।
त्यस्तै, दिवसको पूर्वसन्ध्यामा नेत्रहीन संघ, कैलालीका तर्फबाट आयोजित हाजिरीजवाफ प्रतियोगितामा विजेता अरुण चौधरीको टिम तथा म्युजिकल चियर प्रतियोगितामा पुरुषतर्फका विजेता हस्त खड्का र महिलातर्फ कमला ढकाल तथा वक्तृत्वकला प्रतियोगिताका विजेता हिमाल रोकायालाई पुरस्कृत गरियो ।




