स्थानीय तहमा कर्मचारी व्यवस्थापन समस्या : एक वर्षको अवधिमा पाँच प्रशासकीय अधिकृत
धनगढी । कैलालीका अधिकांस स्थानीय तहहरूमा छिटोछिटो कर्मचारी सरुवा भइरहेका कारण कामकारवाही प्रभावित हुँदै आएको छ ।
२१ वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू आए पनि संघीय सरकारले हचुवाका भरमा छिटोछिटो कर्मचारीको सरुवा गरिरहेका कारण काम गर्न निकै गाह्रो भइरहेको गुनासो बढेको छ । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा पछिल्लो स्थानीय निर्वाचनपछि पाँच जना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । कैलालीकै घोडाघोडी नगरपालिकामा पनि यो अवधिमा पाँच जना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड भन्छन्– “अहिले काजमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा चक्रपाणी पाण्डे आउनु भएको छ, कति दिनसम्म यहाँ बस्नुहुन्छ थाहा छैन ।”
स्थानीय तहका कर्मचारीहरू जनप्रतिनिधिहरूका कारण पनि प्रमुख प्रशासकीय अधिकृत धेरै दिन टिक्न नसकेको दावी गर्छन् । कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिको आफ्नो इच्छाअनुसार काम नगरे सरुवाको माग गर्ने गरेको बताउँछन् । तर, जनप्रतिनिधिहरू भने संघीय सरकार, मन्त्रालयले हचुवाका भरमा कर्मचारीको सरुवा गर्ने गरेको गुनासो गरिरहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका सहित अधिकांस स्थानीय तहमा कर्मचारी समायोजन प्रभावकारी नभएको, संघीय मन्त्रालयले हचुवाको भरमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिरहेको, कतिपय सन्दर्भमा जनप्रतिनिधिहरूले पनि उचित ढंगले कर्मचारी व्यवसथापन तथा परिचालनमा ध्यान दिन नसकेको तथा जनप्रतिनिधिहरू र कर्मचारीबीच दायित्व र अधिकारबारे विवाद देखिने गरेका कारण स्थानीय तहमा समस्या बढिरहेको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख वडले विभागीय कर्मचारीहरू नआउँदा काम गर्न समस्या भइरहेको बताए । उनले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवा गरिरहेकाले समस्या भएको बताए । उनले भने– “जनप्रतिनिधि र कर्मचारीबीच राम्रो तालमेल र समन्वय छ, कुनै समस्या छैन । तर, संघीय सरकारले हामीसँग कुनै समन्वय नगरी आफुखुसी सरुवा गरिरहेको छ ।
धनगढी उपमहानगरपालिकाका एक जना वडाध्यक्षले भने– “कर्मचारीहरूको छिटोछिटो सरुवा हुनुमा दुवै पक्ष कारक रहेका छन् ।” “जनप्रतिनिधिहरू जनताका गुनासोहरूको तत्काल सम्बोधन होस् भन्ने चाहन्छन, तर कर्मचारीहरू ऐन कानुनका जटिल प्रावधान देखाएर गुनासो सम्बोधनमा ढिलाई गर्ने गर्दछन्” उनले भने– “यसले कहिलेकाही जनप्रतिनिधि र कर्मचारीबीच विवाद सिर्जना हुने गरेको छ ।”
घोडाघोडी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनुअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामेछापबाट राजुप्रसाद न्यौपाने सरुवा भएर आए । उनले करिब दश महिना घोडाघोडी नगरपालिकामा काम गरे ।
२०७४ साल कात्तिक ४ गते यातायात व्यवस्था कार्यालय, गण्डकीमा कार्यरत कृतनराज पौडेल घोडाघोडी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतका रूपमा सरुवा भएर आए । उनको आठ महिनापछि गत जेठ ११ गते सरुवा भए । गत भदौ ११ गते घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा संघीय मामिला मन्त्रालयबाट सुरेश सुनार सरुवा भएर आए । तर, उनी दुई महिना पनि टिक्न सकेनन् । उनले जनप्रतिनिधिहरूले कानून मिचेर काम गर्न खोज्ने प्रवृत्तिका कारण काम गर्न गाह्रो भएर सरुवा माग गरेको बताएका थिए ।
उनीपछि घोडाघोडी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर आएका दीपककुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गरेको थियो ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी ‘लोकसेवाबाट आएका कर्मचारीहरूको विभागले नै सरुवा गर्ने भएकाले आफूले यसलाई स्वाभाविक रूपमा लिएका’ बताए ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष नगर कार्यपालिका प्रवक्ता मनराज शाहीको धारणामा प्राय: कर्मचारीहरू स्थानीय तहमा बस्न नचाहने र केन्द्रमै बस्न रुचाउने गरेकाले समस्या भइरहेको छ ।




