३ माघ २०८१, बिहीबार

डडेल्धुरा बस दुर्घटनामा १८ को मृत्यु, २७ घाइते (मृतकहरुको नामसहित)



डडेल्धुरा । डडेल्धुरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका सबै जनाको सनाखत भएको छ । केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११, रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ का ३५ वर्षीया सशी विक, शिखर नगरपालिका–११ का २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, २० वर्षीय तिलक खाती, १७ वर्षीय टेक धामी, नवदुर्गा गाउँपालिका–४ की १८ वर्षीय माया रावल, डोटी शिखर नगरपालिका–१० का १६ वर्षीय रोहित बलायर, सोही नगरपालिका ७ का २२ वर्षीय योगेन्द्र बोहरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इञ्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।
यस्तै, मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–७ का २४ वर्षीय शंकर जोरा, शारदा राउत, कैलालीको हसुलिया–३ का २८ वर्षीय नारायण चौधरी, डोटीको शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ का २४ वर्षीय पदम विक रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इञ्चार्ज नागरीले जानकारी दिए । यस्तै, मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, २० वर्षीया शारदा कडायत, २१ वर्षीय केशव कडायत रहेका छन् ।
दुर्घटनामा परी २७ जना घाइते छन् । घाइतेमध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ७ जना कोहलपुर पठाइएको छ । अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको थियो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो । बसमा ४५ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार