मतदाता नामावलीमा नाम दर्ता गराउन हजारौं बाँकी
धनगढी । कैलालीको गोदावरी नगरपालिका र जानकी गाउँपालिकामा अझै हजारौं मानिसहरू मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले गोदावरी र जानकीको दलित वस्तीमा गरेको अध्ययनले एक हजार आठ सय ९६ जनाले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेको देखाएको हो । संघले शुक्रबार धनगढीमा प्रतिवेदन प्रस्तुत गरेर गोदावरीमा एक हजार र जानकीमा आठ सय ९६ जनाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेको जनाएको छ ।
संघका अध्यक्ष चक्र विकले गोदावरीमा छ सय एक जना र जानकीमा पाँच सय ८५ जनाले नागरिकता समेत बनाउन बाँकी रहेको बताए । उनले नागरिकता नबनाउन बाँकीले नागरिकता बनाएमा मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकीको संख्या अझै बढ्ने बताए ।
संघले सिभिक एजुकेसन अवारनेस परियोजना अन्तर्गत मतदाता शिक्षा र नागरिकताको हकका लागि काम गरिरहेको छ । भारतमा रोजगारी गर्ने, अभिभावकको नागरिकता नभएकाले आश्रितले नागरिकता बनाउन नसकेको लगायतका कारण मतदाता नामावलीमा नामदर्ता गराउन र नागरिकता बनाउन नसकेको अध्यक्ष विकले बताए ।
मतदाता अधिकार मञ्चका अध्यक्ष देवबहादुर विकको अध्यक्षतामा सम्पन्न समिक्षामा नागरिकता वितरण र मतादाता नामावली संकलनका लागि सो क्षेत्रमा शिविर सञ्चालन गर्न पहल गर्ने निर्णय भएको छ । उनले निर्वाचन आयोगले शिविर सञ्चालन गर्न सहमति जनाइसकेको बताए ।




