२ माघ २०८१, बुधबार

निर्मला हत्याकाण्ड : आफन्तहरू धर्नामार्फत न्यायको खोजीमा



कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिनाभन्दा बढी समय भइसकेको छ, तर सरकारले अझैं हत्यारा पत्ता लगाउन सकेको छैन । न्यायको खोजीमा भौंतारिइरहेको निर्मलाका परिवार यतिबेला धर्ना बसेर न्याय खोजिरहेको छ । निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी सहित अरूले धर्नामा साथ दिएका छन् ।
आइतबारदेखि धर्नामा बसेका उनीहरूमा चिसोका कारण रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएको महाकाली अञ्चल अस्पतालका चिकित्सक डाक्टर किशोर बोहराले बताए ।
निर्मलाका बुवा यज्ञराजलाई ज्वरो, रक्तचाप घटेको र आमा दुर्गादेवीको पनि रक्तचाप घटेको उनले बताए ।
दुवै जनाको रगत जाँच पछि थप उपचार बारे निर्णय गरिने डा. बोहराले बताए । निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले धर्ना स्थलमा पुगेर स्वास्थ्यकर्मीसँग पीडित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।
हत्यारालाई सार्वजनिक गर्न दवाव दिँदै आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सुरु भएको पीडित परिवारको धर्ना कहिले सकिने हो, टुंगो छैन । घरमा दुई छोरी पनि भएकाले निर्मलाकी आमा दुर्गादेवी भने साँझ घर जान्छिन् । अरू परिवार रातदिन धर्नामै बसिइरहेका छन् ।
अपराधी पत्ता लाग्ने सम्भावना नदेखिएपछि धर्ना बस्न बाध्य भएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन् । छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै भौंतारिइरहेको निर्मलाको परिवार अझै थाकेको छैन । यति दिनसम्म पनि छोरीका हत्यारा पत्ता नलाग्दा उनीहरूमा आक्रोश भने थपिएको छ ।
छोरीको हत्यापछि शोकमा डुबेकी दुर्गादेवीलाई सरकारले अहिलेसम्म हत्यारा सार्वजनिक गर्न नसक्दा थप कमजोर बनाएको छ । उनले अहिलेसम्म सरकारले छोरीको हत्यारा पत्ता नलगाएको प्रति आक्रोससमेत व्यक्त गरिन् ।
“अहिलेसम्म सरकारले मेरी छोरीको हत्यारा पत्ता लगाउन सकेन । आशा गरौं कि के गरौं ? हत्यारा पत्ता लाग्छ कि लाग्दैन ? हामीले न्याय पाउँछौं कि पाउदैनौं,” दुर्गादेवीले भनिन्, “सरकारले अहिलेसम्म के कारण हत्यारा पत्ता लगाउन सकेन त्यसको जवाफ दिनुपर्छ ।”
छोरीको हत्या अनुसन्धानमा सुरुदेखि नै लापरबाही भएको दुर्गादेवीको भनाइ छ । हत्यालगत्तै प्रहरीदेखि प्रशासनसम्म प्रमाण मेटाउन लागेकाले छोरीको हत्यामा ठूलै गिरोहको संलग्नता रहेको उनको आशंका छ ।
त्यहाँका स्थानीय र नागरिक समाजको आड भरोसाले निर्मलाको परिवार न्यायका लागि लड्न थाकेको छैन । दुर्गादेवीले विभिन्न व्यक्ति र स्थानीयहरूको सहयोगले छोरीको हत्या भएदेखि न्याय माग्दै अहिलेसम्म हिँड्न सकेको बताइन् ।
छोरीको हत्या भएयता अर्काले दिएको सहयोगबाटै गुजारा टारेको दुर्गादेवीले बताइन् । उनको घरमा आम्दानीको स्रोत भनेको चटपटे, पानीपुरीको ठेला व्यापार थियो । छोरीको हत्यापछि त्यो पनि ठप्प छ ।
“अर्काले सहयोग गरेर कति दिन चल्छ र ?” दुर्गादेवी भन्छिन्, “घरमा आर्थिक समस्या उस्तै छ । छोरीको हत्या भएदेखि न खानाको टुंगो छ न बस्नको । घरमा जस्तो समस्या भए पनि त्यो त टारौंला, सहुँला । तर, छोरीलाई बलात्कार गरी मार्ने पापीहरू पहिला पत्ता लगाइयोस् ।”
धर्ना बस्दा पनि सरकारले हत्यारा सार्वजनिक गर्न नसके अनसन नै बस्ने चेतावनी निर्मलाका परिवारको छ ।
गत साउन १० गते घरबाट हराएकी निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा भोलिपल्ट फेला परेको थियो । उनको बलात्कारी र हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन ।

निर्मलाका हत्यारा चाढो पत्ता लगाउ– नयाँशक्ति पार्टी
नयाँशक्ति पार्टीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई चाडो भन्दा चाडो सार्वजनिक गर्न माग गर्दै बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।
नयाँ शक्ति पार्टीका प्रदेश संयोजक कृष्णकुमार चौधरी (कुन्दन)ले बताए ।
नयाँ शक्ति पार्टीका प्रदेश संयोजक कृष्ण कुमार चौधरी (कुन्दन) ले घटना भएको लामो समयसम्म पनि सरकार घटनाबारे गम्भीर नभएकाले सरकारको ध्यानार्कषण गरिएको बताए ।
उनले सरकारको गतिविधिप्रति खेद प्रकट गर्दै न्यायका लागि निर्मलाका आमा बुवा र नागरिक समाजको अनिश्चितकालीन धर्नाप्रति पार्टीको ऐक्यवद्धता रहेको बताए । उनले निर्मला हत्याकाण्डका दोषीलाई यथाशिघ्र सार्वजनिक नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
नयाँशक्ति पार्टीले ज्ञापनपत्रमार्फत पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा देखिएको रसायनिक मल, विउ र पेट्रोलियम पदार्थको अभावबारे पनि प्रदेश सरकारको ध्यानार्कषण गराएको जनाएको छ ।
सो अवसरमा मुख्यमन्त्री भट्टले सरकार निर्मलाको न्यायका लागि कटिवद्ध रहेको बताए । उनले यस विषयमा पटक–पटक प्रधानमन्त्रीसँग आफूले छलफल गरेको बताए ।
ज्ञापनपत्र बुझाउनु अघि नयाँशक्ति पार्टीले केही बेर मुख्यमन्त्री कार्यालय अगाडि नारावाजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार