१४ पुष २०८२, सोमबार

इमान्दारपूर्वक काम गर्न निर्देशन



धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन कर्मचारीहरुसंग आग्रह गरेका छन् ।
‘मन्त्रालयलाई जिम्मेवारी प्राप्त भएका कामकारबाही निष्पक्ष, ईमान्दारितापुर्वक तिव्र गतिमा कार्यान्वयन गर्नुहोस्’ बुधबार धनगढीमा मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रम (शिक्षा क्षेत्र) सम्बन्धी दुई दिने अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री सुवेदीले भने ‘म तपाईले दिएका राय/सल्लाह बमोजिम अघि बढ्ने छु । तपाइहरुलाई काम गर्नमा बाँधा बन्ने छैन् ।’
मन्त्री सुवेदीले कर्मचारीकै सहयोगबाट मात्र मन्त्रालय र आफु सफल हुने बताए । ‘म तपाईहरुलाई निर्देशन होइन आग्रह गर्न चाहन्छु’ मन्त्री सुवेदीले भने ‘मेरो कार्यकाल सफल बनाउने तपाइहरुको हातमा छ । तपाई (कर्मचारी) सफल हुनु भयो भने म सफल हुन्छु ।’
उनले प्रदेशमा रहेका अन्य मन्त्रालयभन्दा सामाजिक विकास मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउन कर्मचारीहरुलाई आग्रह समेत गरे ।
मन्त्री सुवेदीले भने ‘तपाईहरुलाई आई पर्ने समस्याको समाधान खोज्न म तयार छु । मैले मुख्यमन्त्रीलाई आग्रह गरेर हुन्छ वा संघीय मन्त्रालयका मन्त्रीहरुसंग आग्रह गरेर हुन्छ । म निकास खोज्न लागि पर्ने छु ।’
उनले शिक्षा क्षेत्रमा धेरै कमजोरी रहेको बताउँदै ‘कतै दरबन्दी अनुसार शिक्षक छैन भने कतै विद्यार्थी अनुपातमा शिक्षक धेरै छन् । यसको व्यवस्थापनका लागि तपाईहरु गुरुयोजना तयार गर्नुहोस् ।’ उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार नभएसम्म प्रदेश समृद्धिको परिकल्पना गर्न नसकिने बताए । उनले शिक्षा क्षेत्रमा गर्नुपर्ने कामहरु समयमै ईमान्दारितापुर्वक गर्न सरोकारवालाहरुलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मन्त्रालयले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि योजना बनाउनुपर्ने सुझाव दिए । ‘स्वास्थ्य र शिक्षा एक अर्कासंग जोडिएको छ’ उनले भने ‘अहिले प्रदेशमा दुबै क्षेत्रको अवस्था दयनिय बन्दै गएको छ ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि गोष्ठीबाट आएका सुझावको कार्यान्वयनको तयारी भइरहेको र शिक्षा क्षेत्रको सुधारका लागि पनि सुझाव अनुसार काम हुनुपर्ने बताए ।
सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका उपनिर्देशक भीमबहादुर साउदले अहिलेको संरचनाले शिक्षामा अवसरसंगै चुनौति थपिएको बताए । उनले मन्त्रालयले प्रदेशलाई शिक्षामा नमुना बनाउने अठोटका साथ नीति तथा कार्यक्रम अघि बढाउने बताए ।
मन्त्रालयका सचिव गोगनबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमबारे मन्त्रालयका शैक्षिक योजना महाशाखा प्रमुख झंकर विष्टले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन लोकेन्द्रप्रसाद भट्टले गरेका थिए । कार्यक्रममा कैलाली–कञ्चनपुरका शिक्षा ईकाई प्रमुख, स्थानीय तहका शिक्षा प्रमुख लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार