बझाङ उद्योग वाणिज्य संघ भलिवल कप : थलारा र छबिसपाथिभेरालाई उपाधि
चैनपुर । बझाङ उद्योग वाणिज्य संघ कप, पुरुष भलिवलको उपाधी थलारा गाउँपालिकाले जितेको छ । त्यसैगरी महिला भलिवलको उपाधि छविसपाथिभेरा गाउँपालिकाले प्राप्त गरेको छ ।
सोमबार भएको पुरुष भलिवलतर्फको फाइनल खेलमा थलाराले केदारस्युँ गाउँपालिकालाई पराजत गर्यो । प्रतियोगितामा मष्टा गाउँपालिकाले तेस्रो स्थान प्राप्त गर्यो ।
त्यसैगरी, महिला भलिवलको फाइनल खेलमा छबिसपाथिभेरा गाउँपालिकाले जयपृथ्वी नगरपालिकालाई पराजित गर्दै उपाधि जित्यो । प्रतियोगितामा थलारा गाउँपालिकाले तेस्रो स्थान प्राप्त गर्यो ।
पुरुष भलिवलको उपाधि जित्दै थलारा गाउँपालिका टिमले एक लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता केदारस्युँ गाउँपालिकाले ७१ हजार तथा तृतीय स्थान प्राप्त गरेको मष्टा गाउँपालिकाले ४१ हजार रुपैयाँ पुरस्कार हात पार्यो ।
त्यसैगरी महिला भलिवलको उपाधि जितेको छबिसपाथिभेरा गाउँपालिकाले ४१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । भने उपविजेता जयपृथ्वी नगरपालिकाले ३१ हजार र तृतीय भएको थलारा गाउँपालिकाले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
भलिवल प्रतियोगिताको पुरुषतर्फ १६ टिमको सहभागिता रहेको थियो भने महिला तर्फ आठ टिमले भाग लिएका थिए ।
बझाङ उद्योग वाणिज्य संघको आयोजनामा गत छ गतेदेखि सो प्रतियोगिता सञ्चालन भएको थियो ।