छ लेन सडक : कल्भर्ट निर्माणमा ढिलाई हुँदा आवागमनमा कठिनाई
धनगढी । मोहनापुल–अत्तरिया सडक अन्तर्गत निर्माण भइरहेका कल्भर्टहरूको काम अधुरो हुँदा वर्षातको समयमा आवातजावतमा निकै समस्या भइरहेको छ ।
सो सडक खण्ड अन्तर्गत निर्माणाधिन ११ वटा कल्भर्टमध्ये अहिलेसम्म एउटा मात्रै पुरा भएको छ । बाँकी कल्भर्टको निर्माण कार्यमा ढिलाई भइरहेकाले यातायात सञ्चालनका साथै पैदल यात्रीलाई निकै सास्ती भइरहेको स्थानीयले बताएका छन् ।
मोहनापुल–अत्तरिया छ लेन सडक निर्माण कार्य कहिले ठेकेदारहरूको ढिलाईका कारण त कहिले आयोजना स्वयंका कारण सुस्त गतिमा रहेको देखिएको छ ।
वर्षा भएको समयमा सो सडकखण्डमा यातायात सञ्चालनमा झन् बढी समस्या हुने गरेको चालकहरूले बताए । दैनिक मोटरसाइकलमा आवातजावत गर्ने चित्रराज भट्ट भन्छन्– “सडक निर्माण कार्य सुस्त भएकाले वर्षा भएका वेला मोटरसाइकल चलाउन पनि निकै कठिनाई हुने गरेको छ ।”
धनगढी–अत्तरिया सडकको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका निर्देशक लम्मण साउँदले आयोजनाका कारण काममा ढिलासुस्ती भएको बताए । उनले कतिपय स्थानमा निर्माणधिन कल्भर्टको एकापट्टिको काम सकिएको र अर्कोतर्फको काम गर्ने तयारी गरिरहेको अवस्थामा आयोजनाले हाललाई काम रोक्न भनेको बताए । निर्देशक साउँदले आयोजनाले के कति कारणले काम रोकेको हो त्यस बारेमा जान्न खोज्दा कहिले डिजाईन नआएको त कहिले विभागबाट काम रोक्न परिपत्र आएको भन्ने जानकारी दिने गरेको बताए ।
मोहना–अत्तरिया छ लेन सडक आयोजनाका सबईन्जिनियर भुपेन्द्र बडालले आयोजनाका प्रमुख मनिषकुमार शाहले भने बमोजिम आफूले निर्माणाधिन कल्भर्टको काम रोक्न भनेको स्वीकार गरे । उनले अहिले विभागबाट नै परिपत्र आएकोले काम नगर्न भन्नुस् भनेकाले आफूले त्यसो गरेको बताए । तर उनीसँग परिपत्रबारे जानकारी माग्दा आयोजना प्रमुखले मौखिक रूपमा जानकारी गराएको भन्दै लिखित रूपमा पत्र आए नआएको आफूलाई जानकारी नभएको बताए ।
दुई वर्षको ठेक्का सम्झौता भएको छ लेन सडक निर्माण कार्यको शुरुवातमा केही घरधनीहरूले बिरोध गरेपछि निर्माण कार्य रोकिएको थियो । त्यसपछि पनि आयोजनाले सडक निर्माण कार्य गती दिन सकेको छैन । आयोजनाले हाल कल्भर्ट निर्माण प्रक्रियालाई समेत अलपत्र छोडेर काम ठप्प पारेको छ । यसरी सडकको निर्माण कार्य सुस्तनै रहेमा तोकिएको म्यादको समयमा काम सम्पन्न नहुने आशंका स्थानीयले गरिरहेका छन् ।