५७ प्रतिशत बढी मुद्दा फर्छ्यौट
धनगढी । कैलाली जिल्ला अदालतले आर्थिक वर्ष २०७४/०७५ मा ५७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतमा दर्ता भएको विभिन्न प्रकारका एक हजार सात सय ७६ मुद्दामध्ये नौ सय ९२ मुद्दा फर्छ्यौट गरेको जानकारी दिइएको छ ।
कैलाली जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा देवानीका चार सय, फौजदारीका सात सय ७०, निषेधाज्ञाका २० गरि एक हजार एक सय ९० र आर्थिक वर्ष ०७३/७४ बाट जिम्मेवारी सरि आएका पाँच सय ८६ गरि एक हजार सात सय ७६ मुद्दा दर्ता भएका छन् ।
अदालतले देवानीका तीन सय २८, फौजदारीका छ सय ५१, निषेधाज्ञाका १७ र विविध दुई वटा मुद्दा फछर्यौट गरेको छ । अदालतले देवानीका तीन सय ४६, फौजदारीका चार सय १६, निषेधाज्ञाका १५ र विविध एक गरि सात सय ७८ मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।
अदालतका अनुसार आर्थिक वर्ष २०७४/७५ मा लेनदेनका एक सय ५१, करारका २०, अंश सम्बन्धी दुई सय ५७, सम्बन्ध विच्छेदका दुई सय ५३, जवरजस्ती करणीका ४७, हाड नाता करणीका एक, अन्य करणीका ४०, कर्तव्य ज्यानका ३१, सवारी ज्यानका ७०, लागु औषधका ७३, जाल साजीका एक सय ५५, मानव वेचविखनका १२, घरेलुका १०, वनका ३९ मुद्दा दर्ता भएका थिए ।
अदालतले लेनदेनका ८१, करारका १०, अंशका एक सय २७, सम्बन्ध विच्छेदका ७२, जवरजस्ती करणीका १९, अन्य करणीका १८, कर्तव्य ज्यानका सात, सवारी ज्यानका तीन, लागु औषधका २०, जालसाजीका ५०, मानव बेचविखनका पाँच, घरेलु पाँच, वनका नौ मुद्दा फछर्यौट गर्न बाँकी रहेको जनाएको छ ।
अदालतमा एक बेन्चको न्यायधिश नहुनु, निर्वाचनका बेला अदालतमा काम गर्न नपाउनु र अदालतको लक्ष्य भन्दा बढी मुद्दा दर्ता हुनुका कारण यस आर्थिक वर्षमा मुद्दा फर्छ्यौटको अवस्था कमजोर रहेको कैलाली अदालतका श्रेष्तेदार ईन्द्रबहादुर कठायतले बताए ।
कैलाली जिल्ला अदालतमा पीडित बालबालिका सम्बन्धी १४ मुद्दा रहेकोमा चारवटा फछर्यौट हुन बाँकी रहेको र बालबालिका पक्षमा रहेको ४० मुद्दा रहेकोमा २९ फर्छ्यौट हुन बाँकी रहेको जनाएको छ ।
अदालतमा देवानीतर्फको विगो भराउने सम्बन्धी ६१ मुद्दा रहेकोमा २०, चलन चलाउने सम्बन्धी १८ रहेकोमा ६, वण्डा छुटाउनेसम्बन्धी ४६ रहेकोमा १३ मुद्दा फछर्यौट गर्न बाँकी रहेको जनाएको छ ।
अदालतमा देवानी मुद्दा भन्दा फौजदारी मुद्दाको कार्यान्वयनमा चुनौति रहेको जनाईएको छ । अदालतमा एक हजार छ सय २५ वर्ष ११ महिना १७ दिन आर्थिक वर्ष २०७३/७४ बाट कैद जिम्मेवारी सरि आएकोमा आर्थिक वर्ष ०७४/७५ मा तीन सय ७६ वर्ष तीन महिना दुई नयाँ कैद जिम्मेवारी थपिएको छ । अदालतले चार सय २१ वर्ष नौ महिना १९ दिन कैद जिम्मेवारी फर्छ्यौट गरेको छ ।
यस्तै, अदालतले आर्थिक वर्षमा ८६ लाख ८८ हजार पाँच सय २५ जरिवाना अशुल गरेको छ । अदालतले सात करोड २४ लाख ८३ हजार छ सय ६१ जरिवाना अशुल गर्न बाँकी रहेको जनाएको छ ।
कैलाली जिल्ला अदालतका जिल्ला न्यायधिश विष्णुप्रसाद अर्यालले अदालतमा आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका कारण फछर्यौट गर्न नसकिएको बताए । उनले अदालतमा तीन सय मुद्दा बढी दर्ता भएको बताए ।
न्यायधिश अर्यालले कैलाली अदालतमा सम्बन्ध विच्छेद, जवरजस्ती करणी, लागु औषधका मुद्दा बढी दर्ता भईरहेको जानकारी दिए । जिल्ला न्यायधिश अर्यालले अदालतले हप्तामा तीन दिन देवानी, दुई दिन फौजदारी र एक दिन अन्य मुद्दाको सुनुवाई गर्ने कार्य तालिका बनाएको जानकारी दिए । उनले कैलाली अदालतले आर्थिक वर्ष ०७५/७६ मा अदालतभित्र भिडियो कन्र्फरेन्सबाट वयान लिने व्यवस्था गर्ने तयारी अघि बढाएको बताए ।