१६ कार्तिक २०८१, शुक्रबार

काँग्रेस शीर्ष नेताहरूको आरोप– वर्तमान सरकार अधिनायकवादी बाटोमा



धनगढी । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेताहरूले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादी बाटोमा अग्रसर भइरहेको आरोप दोहोर्‍याएका छन् । शीर्ष नेताहरूले नेकपाका नेताहरू तथा प्रधानमन्त्रीलाई इतिहास नभुल्न समेत आग्रह गरेका छन् ।
नेपाली काँग्रेस कैलालीले बुधबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता सिंहले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे– “तपाईहरू ईतिहास नभुल्नुहोस् । तपाईहरूको हात समातेर टुकुटुकु हिडाउने पार्टी भनेको नेपाली काँग्रेस नै हो । नेता सिंहले राणा शासन, पञ्चायत र राजालाई फालेर माओवादीलाई समेत जंगलबाट सत्तामा पुर्‍याएको दावी गरे ।”
नेता सिंहले आफनो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए । उनले भने– “काँग्रेस सधै जनताको पक्षमा बोल्छ, र काम पनि गर्छ । उनले प्रधानमन्त्री ओलीलाई जनताका पक्षमा काम गर्न आग्रह गरे ।” उनले सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाए ।
पार्टीको आन्तरिक राजनीतिबारे चर्चा गर्दै पूर्वमहामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली एउटै भएको टिप्पणी गरे ।
“प्रधानमन्त्री ओली अहिले जुनशैलीमा सरकार चलाइरहेका छन्, त्यही शैलीमा नेपाली काँग्रेसका सभापति देउवाले पार्टी चलाईरहेका छन्” नेता सिंहले भने– “प्रधानमन्त्री ओलीको शैलीले देश र पार्टी सभापति देउवाको कार्यशैलीका कारण पार्टी धरासायी हुने खतरा छ ।” उनले पार्टीलाई बलियो बनाउन एउटा सक्षम र सवल नेतृत्व आवश्यक रहेकोले नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।
उनले पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठाउँदा सभापतिले ‘विरोधीको संज्ञा’ दिने गरेको चर्चा गरे । उनले प्रश्न गरे– “सभापति देउवाले पार्टी कमजोर हुँदै जानुमा आफना गल्ती नहेर्ने, तर त्यसैका विरुद्ध आवाज उठाउने व्यक्ती पार्टी विरोधी हुने ?” उनले कार्यकर्तासंग आह्वान गरे– “तपाईहरू पार्टीलाई जीवन्त बनाउन चाहनुहुन्छ की पार्टीलाई कमजोर बनाउन चाहनुहुन्छ ?” उनले पार्टीको नेतृत्व र वैचारिक धारणा बलियो हुनुपर्ने बताए । उनले निर्वाचनमा नेतृत्वको असक्षमताकै कारण पार्टीले धेरै ठाउँमा हार व्यहोर्नु परेको बताए ।
कार्यकर्ता भेटघाटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले वर्तमान सरकारमा गठन भएदेखि नै अधिनायकवाद तर्फ गइरहेको बताए । “नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा राज्य मै हुँ र मैले जे गरे पनि हुन्छ भन्ने दम्भ बढेको छ” नेता डाक्टर कोइरालाको सुझाव थियो– “यही शैलीले काम गर्नुभयो भने जसरी राणा र राजाको शासन हट्यो त्यसरी नै तपाई पनि त्यही बाटोमा जानुहुनेछ ।”
“शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), केपी शर्मा ओली सबै माइतीघर मण्डलामै भाषण गरेर प्रधानमन्त्री बनेका हुन्” प्रधानमन्त्री ओलीलाई उनको प्रश्न थियो– “माइतीघर मण्डलाले तपाईंलाई त्यस्तो के दु:ख दियो र तपाईंले किन निषेधित क्षेत्र घोषणा गर्नुभयो ?”
उनले प्रधानमन्त्री ओलीले संसदीय व्यवस्थाको खिल्ली उडाएको आरोप लगाए । भने– “प्रधानमन्त्री ओली प्रदेश सभा बैठकमा गएर भाषण गर्नुहुन्छ । हामीले संसदीय व्यवस्था भएका देशमा प्रधानमन्त्रीले यसरी प्रदेश सभा बैठकमा भाषण गरेको देखेका छैनौं ।”
नेता कोइरालाले गृहमन्त्री रामबहादुर थापा बादलले डाक्टर गोविन्द केसीलाई ‘अधिनायकवादी’ को संज्ञा दिएको आपत्ति जनाए । भने– “केसी वास्तविक समाजवादी र सत्याग्राही व्यक्ति हुन् ।” उनले लोकतान्त्रिक सरकार भन्नेले व्यवहार पनि लोकतान्त्रिक हुनुपर्ने बताए । “लोकतन्त्र भनेको लाखौंलाख मानिसले जुलुस गर्न पाउने अधिकार मात्र होइन्, एकजना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाई गर्नु पर्छ भन्ने राज्य प्रणाली हो” उनले थपे ।
नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले डाक्टर आफ्नो पार्टीले डाक्टर गोविन्द केसीका मागको सम्बोधन गरिनुपर्छ भनेर आवाज उठाइरहेको बताए । “डाक्टर केसीले उठाएको माग आम जनताको पक्षमा छन्, सरकारले ती माग यथाशिघ्र पुरा गर्नुपर्छ” उनले पार्टीले सरकारविरुद्ध नभई सरकारका ज्यादती विरुद्ध सडक र सदनमा आवाज उठाइरहेको बताए ।
नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नरनारायण शाह (मनु) को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा जिल्ला सदस्य, पार्टी भातृ संगठनका पदाधिकारी र ठूलो संख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव दीपक जोशीले गरेका थिए ।

यसैगरी बुधबारनै नेपाल ट्रेड युनियन काँग्रेस कैलालीले काँग्रेसका केन्द्रीय नेताहरुसँग भेटघाट तथा स्वागत कार्यक्रम गरेको छ । ट्रेड युनियन काँग्रेसको कार्यालयमा गरिएको भेटघाट तथा स्वागत कार्यक्रममा ट्रेड युनियनका समस्याहरु केन्द्रीय नेताहरुलाई सुनाएका थिए ।
ट्रेड युनियन काँग्रेस कैलालीका उपाध्यक्ष तेजराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य केशब पन्तले गरेका थिए भने संचालन सचिब सुरत स्वारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार