२ माघ २०८१, बुधबार

सामुहिक बलात्कारपछि हत्या घटना : घटनामा संलग्न दोषीहरू सार्वजनिक



धनगढी । कैलालीको गौरीगंगामा एउटी युवतीलाई सामुहिक बलात्कार गरेर हत्या गर्ने अभियुक्तहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
गत १२ गते बेपत्ता भएकी गौरीगंगा नगरपालिका वडा नम्बर ११ का माया विक १५ गते चपरथली सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
असार ५ गते नगरपालिकाबाट घरधुरी सर्वेक्षण कार्यका लागि एक महिनाको करार सेवामा काम गर्न थालेकी माया बेपत्ता भएको तीन दिनपछि सो सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी चुनरी (दुपट्टा) ले घाँटी तथा सुरुवालले दुवै हात पिठ्यूमा बाँधेको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरीले घटनामा संलग्न रहेका गौरीगंगा वडा नम्बर ११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भूवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षका सुरज चौधरीलाई सार्वजनिक गर्‍यो ।
“मायालाई सामुहिक बलात्कारपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ” जिल्ला प्रहरी कार्यालय प्रमुख (प्रहरी उपरीक्षक) विनोद घिमिरेले अनुसन्धानका क्रममा प्राप्त तथ्यबारे जानकारी दिँदै भने– “मायासँगै काम गर्ने गणेशले उनीलाई गत ८ गते यौन सम्पर्कको प्रस्ताव गरेको र उनले सोझै इन्कार गरेकी थिइन् ।” त्यसको तीन दिनपछि ११ गते गणेशले उनलाई जबरजस्ती गर्न खोजे पनि मायाले प्रतिकार गरेकी थिइन् ।

गणेशले मायाले आफ्नो यौन प्रस्ताव अस्वीकार गरेको झोंकमा साथीहरूलाई ८० हजार रुपैयाँ दिने प्रलोभन दिएर सामुहिक बलात्कारको योजना बनाएको अनुसन्धानबाट खुलेको छ । गणेश, मनोज लगायतका अभियुक्तले मायाको हात बाँधेर तथा कागज र रुखका पातले मुख बन्द गरेर सामुहिक बलात्कार गरेको खुलेको प्रहरी उपरीक्षक घिमिरे जानकारी दिए । मायाको सामुहिक बलात्कारका क्रममा ज्यान गएको पनि अनुसन्धानबाट खुलेको छ ।
प्रहरी उपरीक्षक घिमिरेले घटनापछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा नौ सदस्यीय टोली गठन गरिएको बताए । “हामीलाई यो घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न कठिन थियो” प्रहरी उपरीक्षक घिमिरेले भने– “सून्यबाट अनुसन्धान शुरु गर्नुपरेकाले नगरपालिका भित्रका अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्दै जाँदा ‘एक जना गाउँबाट फरार भएपछि’ घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न केही सहज भयो ।”
गत १२ गते बिहान ९ बजेतिर खाना खाएर काममा निस्केकी माया साँझसम्म पनि घर नफर्किएपछि उनको परिवारले भोलिपल्ट मसुरिया प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।
“मायाले चलाउने साइकल १४ गते धनगढी उपमहानगरपालिका जाईगाउँ बस्ने सरोज वडले मसुरियामा चलाइरहेको मायाकी बहिनीले देखिछन्” प्रहरी उपरीक्षक घिमिरेले भने– “मायाकी बहिनीले सो कुरा घरमा गएर बुबालाई सुनाइछिन् ।” सोधपुछका क्रममा सरोजले वनमा बाख्रा चराउन गएको बेला साइकल फेला पारेको बताएका थिए ।
प्रहरीले सो घटनामा संलग्न अभियुक्तहरूमाथि कर्तव्य ज्यान तथा सामुहिक जबरजस्ती करणी अपराध अन्तर्गत मुद्दा चलाउने जनाएको छ ।
त्यस्तै, प्रेमीसँग मिलेर आफ्नो श्रीमानको हत्या गर्ने अभियुक्तहरूलाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
गत ८ गते कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ का तेजबहादुर बिष्टको हत्यामा संलग्न उनकी श्रीमती लक्ष्मी बडैला बिष्ट र दीपक खत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार लक्ष्मीले तेजबहादुरलाई अत्तरिया बजारमा रक्सी खुवाएर ललाईफकाई चुरे गाउँपालिका वडा नम्बर ५ स्थित भासुभिरमा लगेकी थिइन् । भासुभिरमा पुगेपछि लक्ष्मीका प्रेमी दीपकले तेजबहादुरको टाउकोमा प्रहार गरी भिरबाट खसाएका थिए ।
लक्ष्मी र तेजबहादुरबीच गत बैशाखमा मागी विहे भएको थियो ।
त्यस्तै, बुधबार राति मादक पदार्थ सेवन गरी आफ्नो श्रीमतीको हत्या गर्ने लम्कीचुहा नगरपालिकाका ईन्द्रबहादुर चौधरीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार दुवैले मादक पदार्थ सेवन घरमा पुगेको र त्यहाँ पुगेपछि सामान्य विवाद हुँदा ईन्द्रले आफ्नी श्रीमती गर्भीदेवी चौधरीमाथि कुटो र लाठीले प्रहार गरेर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार