२ माघ २०८१, बुधबार

अवरुद्ध प्रदेश सभा बैठक सञ्चालन



धनगढी । केही दिनदेखि प्रमुख प्रतिपक्षको अवरोधका कारण स्थगित प्रदेश सभा बैठक बुधबारदेखि सञ्चालनमा आएको छ ।
प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच बजेटमा नमिलेका विषय मिलाएर अघि बढ्ने ‘भद्र सहमति’ भएपछि बुधबारको प्रदेश सभा बैठक सञ्चालन भएको छ ।
सोमबार र मंगलबार लगातार दुई दिन प्रतिपक्षीको अवरोधका कारण संसद बैठक अवरुद्ध भएको थियो ।

फाइल तस्बिर

बुधबारको संसद बैठकबमे विशेष समयमा सरकार र प्रमुख प्रतिपक्षी दलबीच भएको भद्र सहमतिबारे सरकारका तर्फबाट सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र प्रमुख प्रतिपक्षी दलका तर्फबाट सांसद भरतबहादुर खड्काले बोलेका थिए । सामाजिक विकास मन्त्री सोडारीले बजेटमा भएको र हुने कमजोरीहरूप्रति प्रदेश सरकार नै जवाफदेही रहेको बताए । मन्त्री सोडारीले संघीय सरकारका तर्फबाट छुटेका योजनाहरूमा मात्रै प्रदेश सरकारको बढी ध्यान गएकोले सोही अनुसार बजेट विनियोजन गरिएको बताए ।
उनले प्रतिपक्षी दलसित भएको सहमति पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले सरकार विधि अनुसार नै काम गरिरहेको दावी गरे । “विधि भन्दा बाहिर जान सरकारलाई प्रदेश सभाको नियमावली, संविधानले पनि दिँदैन” उनले भने– “हामी हरेक कुरामा जवाफदेही छौं, स्वच्छन्द हुन सक्दैनौं ।”
यसअघि विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका सांसद खड्काले विधि पुर्‍याएर काम गरे मात्रै प्रदेश सरकार सफल हुने बताए । उनले भने– “हामीले विधि र प्रक्रिया अनुसार चलौं भनेर मात्रै संसद अवरोध गरेका हौं ।”
उनले बजेट निर्माण गर्दा र योजना छनौट गर्दा प्रदेश सभाका ५३ जना सदस्य स्रोत भए पनि सरकारले सांसदहरूको सुझावलाई हलुका ढंगले लिएको बताए । “सरकारले प्रमुख प्रतिपक्षी दलको सुझावलाई हलुका ढंगले लिएकोले नै हामीले बाध्य भएर
संसदको कारवाही अवरुद्ध गर्नुपर्‍यो” सासंद खड्काले संंसद र सांसदको अपमान हुने गरी सरकारले योजना ल्याउन नहुने बताए ।
उनले स्थानीय तहको सहभागिता बिना प्रदेश सरकारका योजना कार्यान्वयन गर्न सम्भव नभएको बताए । सांसद खड्काले सरकारले बजेटका सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसित गरेको भद्र सहमति कार्यान्वयन हुनेमा आफूहरू आशावादी रहेको बताए ।
सरकार र प्रमुख प्रतिपक्षीबीच संसद सञ्चालनका विषयमा छलफल भएपछि सुचारु भएको संसदको बैठकमा बुधबारका लागि तोकिएको कार्यसूची भने हटाइएको थियो ।
विशेष समय मात्रै सञ्चालन गरेका सभामुख अर्जुनबहादुर थापाले बुधबारका लागि कार्यसूचीमा रहेका सबै विषय हटाइएको जानकारी दिए । उनले नियमित छलफल र बुधबारको कार्यसूचीमा रहेका विषयमा छलफल गर्न बिहीबार बिहान ८ बजेबाट बैठक सञ्चालन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार