१६ कार्तिक २०८१, शुक्रबार

दोस्रो दिन प्रदेश सभा बैठक स्थगित



धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधपछि दोस्रो दिन पनि प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षीको अवरोध जारी रहने संकेत पाएपछि प्रदेश सभाको मंगलबारको बैठक सूचना टाँस गरी बुधबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार बैठक शुरु हुने समयसम्म पनि प्रतिपक्षी सासंदहरूको अनुपस्थिति रहेपछि सभामुख अर्जुनबहादुर थापाको निर्देशनमा प्रदेश सभा सचिवालयले बुधबार अपरान्ह सम्मका लागि बैठक स्थगित गरिएको सूचना टाँस गरेको थियो ।

फाइल तस्बिर

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट वितरणमुखी र कार्यकर्तामुखी भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष काँग्रेसले संशोधनको माग गर्दै आइतबारदेखि नै संसदमा विरोध गरिरहेको छ । आइतबार संसदमा ‘मौन विरोध’ गरेको काँग्रेसले सोमबारदेखि संसद बैठक अवरोधको रणनीति अवलम्बन गरेको छ ।
यसैबीच, प्रदेश सरकारले संसदमा भइरहेको अवरोध अन्त्य गर्नका लागि प्रमुख प्रतिपक्षी दलसित छलफल थालेको छ ।
मंगलबार बिहान प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीच संसद नियमित गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
सभामुख थापाले संसद बैठक नियमित गर्ने विषयमा प्रमुख प्रतिपक्षी दलसित छलफल चलिरहेकोले बुधबारको बैठक नियमित हुने आशा व्यक्त गरे ।
प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले बजेट विनियोजन गर्दा आफ्नो कार्यान्वयन संयन्त्रको अभावका कारण केही कमजोरी भएको स्वीकार गरेको बताए ।
मंगलबार साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्ष दलका नेता रावलले सरकारले संसदमा नै बजेट तर्जुमा तथा विनियोजनमा कमजोरी भएको स्वीकार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार