२ माघ २०८१, बुधबार

हावाहुरीबाट एक महिलाको मृत्यु



धनगढी । आइतबार रातिको भीषण हावाहुरीका कारण कैलालीमा एक महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । तीब्र गतिमा आएको हावाहुरीबाट धनमालको पनि व्यापक क्षति भएको छ ।
हावाहुरीका कारण घरको छानाको बल्ली खस्दा च्यापिएर गौरीगंगा नगरपालिका वडा नम्बर १, माघीगाउँकी ५६ वर्षीया चारुमती बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए ।
करिब आधा घण्टा तीव्र बेगमा आएको हावाहुरीबाट कैलालीका विभिन्न भागमा धनमालको व्यापक क्षती भएको छ । जिल्लाका विभिन्न भागमा हावाहुरीले दर्जनौ घरका कर्कटपाता तथा टायलका छाना उडाएको छ ।
हावाहुरीका कारण आधा दर्जन ठाउँमा विद्युतका पोल ढल्नुका साथै विद्युत प्रसारण लाइन (तार) चुँडिएको नेपाल विद्युत प्राधिकरण अत्तरियाले जनाएको छ । हावाहुरी शुरु भएपछि आइतबार राती सवा नौ बजेदेखि जिल्लाका अधिकांस स्थानमा विद्युत आपूर्ति समेत अवरुद्ध भएको थियो । सोमबार दिउँसो तीन बजेतिर विजुली आए पनि पुन: अवरुद्ध भएको थियो ।
हावाहुरीका कारण अधिकांस स्थानमा मोवाइल तथा ल्याण्डलाइन टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।
ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँमा यातायात सञ्चालनमा पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले हावाहुरीका कारण भएको धनमालको क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जनाएको छ ।
हावाहुरीका कारण आँप, लिचि लगायतका फलफूलमा निकै क्षति पुगेको छ । तरकारी तथा बैशाखे मकैमा क्षति पुगेको छ ।
उता, कैलालीको बर्दगोरीया गाउँपालिकाका बिभिन्न स्थानमा हावाहुरीका कारण एक दर्जन बढी घरका छानामा क्षति पुगेको छ । बौनिया बजारमा रहेका केही पसलका टिनका छाना उडाएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा हावाहुरीका कारण १३ लाख रुपैयाँ बढी मूल्यको धनमाल क्षति भएको वडाध्यक्ष भिख्खु चौधरीले जानकारी दिए ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १ उत्तरमुडामा हावाहुरीका कारण घरको छाना उडाउँदा एकै घरका चार जना घाइते भएका छन् । हावाहुरीले घरको छाना सहित भित्ता भत्काउदा घरभित्र सुतिरहेका चार जना घाइते भएको वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले बताए ।
गम्भीर घाइते दलबहादुर विक र अप्सरा विकको नेपालगञ्ज अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको वडाध्यक्ष खतिवडाले बताए ।
हावाहुरीका कारण वडा नम्बर १ मा १५ घरका छाना र भित्ता भत्किएका छन् । गाउँपालिका अध्यक्ष बलिराम चौधरीले हावाहुरीका कारण गाउँपालिकाका विभिन्न वडामा विद्युत तथा रुखहरू ढलेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार