१९ पुष २०८१, शुक्रबार

सीमा सर्वेक्षण तथा मर्मत कार्य तीब्र बनाइँदै



धनगढी । कैलाली र कञ्चनपुरको अन्तर्राष्ट्रिय सीमा सर्वेक्षण, सीमास्तम्भ मर्मत लगायतका कार्यलाई तीब्र बनाइने तथा सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको ज्यादति कडाईका साथ नियन्त्रण गर्ने नेपाल र भारतका अधिकारीहरू सहमत भएका छन् ।
नेपाल र भारतको सीमामा पटकपटक देखिने समस्या तथा सीमा सर्वेक्षण प्रगति लगायतका विषयमा शुक्रबार धनगढीमा भएको ‘दोस्रो नेपाल–भारत सीमा सर्वेक्षण टोलीको बैठक’ ले सीमामा रहेका विवाद अन्त्य गर्न मर्मत, निरीक्षण कार्यलाई यथाशिघ्र टुंगो लगाउने सहमति गरेको जनाइएको छ ।
नेपाल–भारत सीमा सर्वेक्षण ४ नम्बर टोलीले कैलालीको खक्रौलादेखि सीमा सर्वेक्षण, सीमास्तम्भ मर्मत लगायतका काम शुरु गरेको थियो । देशभर चार वटा संयुक्त नेपाल–भारत सीमा सर्वेक्षण टोली खटिएका छन् । जसअन्तर्गत कैलाली, कञ्चनपुर, डडेल्धुरार बैतडीको जिम्मा ४ नम्बर टोलीलाई दिइएको छ ।
सर्वेक्षण टोली प्रमुख सुर्दशनसिंह धामीका अनुसार कैलालीमा ७३ र कञ्चनपुरमा दुई सय १७ गरी दुई सय ९० वटा पिल्लर बनाउनुपर्ने अवस्थामा रहेका छन् । टोलीले मर्मत गर्नुपर्ने कुल पिल्लरमध्ये ३४ प्रतिशत पिल्लर मर्मत गरिसकेको जनाएको छ । टोली प्रमुख धामीका अनुसार टोलीले अहिलेसम्म कञ्चनपुरका तीन र कैलालीका ९८ गरी एक सय एक पिल्लर मर्मत गरिसकेको छ ।
त्यस्तै कैलालीमा ६८ र कञ्चनपुरमा ३५ गरी एक सय तीन पिल्लर बालुवामा बनाईनुपर्ने रहेका छन् । टोली प्रमुख धामीले यो पिल्लर विशेष टोलीले मर्मत गर्ने बताए ।
त्यस्तै, कैलालीमा एक सय ४१ र कञ्चनपुरमा एक सय २५ गरी दुई सय ६६ पिल्लर सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेको देखिएको छ । कञ्चनपुरमा सहायक र मुख्य पिल्लर गरेर तीन सय ७७ र कैलालीमा दुई सय ८२ पिल्लरहरू छन् ।
नेपाली सीमा सर्वे टोलीका प्रमुख धामीले सीमा सर्वे कार्य तीब्र गतिमा भइरहेपनि स्थानीयले बिरोध गर्दा सीमा स्तम्भ मर्मतमा ढिलाइ भइरहेको बताए । हाल जसले जहाँ भनेपनि बिगतको नक्सा अनुसार नै सर्वे हुने उनले बताए ।
भारतीय सीमा सर्वेका प्रमुख आरसी भट्टले सीमा सर्वेमा कुनै कमजोरी नराखेको दावी गरे । उनले सुगौली सन्धी अनुसारनै सीमा सर्वे भइरहेको र सीमामा पिल्लर निर्माण गर्ने कार्य भइरहेको उनले बताए ।
टोली प्रमुख धामीले खक्रौलादेखि शुरु गरेको पिल्लर निर्माण कार्य अहिले चन्दनचौकीसम्म पुगेको जानकारी दिए । टोलीले कैलाली कञ्चनपुरका छ सय ६९ पिल्लरको निरिक्षण गरिसकेको, एक सय एक पिल्लर मर्मत र ३१ वटा पिल्लर निर्माण गरिसकेको कञ्चनपुर प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिए ।
उनले कैलाली–कञ्चनपुरका केही क्षेत्रमा स्थानीयलाई बुझाउन नसक्दा सीमामा विवादहरू उत्पन्न भएको बताए । उनका अनुसार बैठकमा भारतीय सीमा क्षेत्रमा नेपालीमाथि हुने लुटपाट रोक्ने तथा सीमा विवाद समाधान गर्दै दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता भारतीय अधिकारीहरूले गरेका छन् ।
भारतीय पक्षबाट सहभागी लखिमपुर खिरिका डिएम शैलेन्द्रकुमार सिहंले सीमा विवादलाई समाधान गर्ने आफ्नो प्रमुख दायित्व रहेको बताए । नेपालीहरू सीमामा लुटिने समस्याको पनि चाँडै अन्त्य गरिने उनले आश्वासन दिए । उनले सीमामा देखिएको समस्या समाधानका लागि सीमा सर्वे टोलीले तीब्ररूपमा काम गरिरहेको बताए ।
भारतीय पक्षको नेतृत्व गरेका लखिमपुरखिरीका डिस्ट्रिक मजिस्ट्ेरट शैलेन्द्रकुमार सिहंलाई नेपाल प्रहरीले सलामी दिएर स्वागत गरेको थियो । भारतीय अधिकारीहरूलाई नेपाली अधिकारीहरूले खादा ओडाएर स्वागत गरेका थिए । करिब तीन घण्टा चलेको छलफलमा भारतीय अधिकारीहरूले पुरानै सीमाना अनुसार सर्वे हुने र सीमानामा नेपालीमाथि हुने ज्यादतीको अन्त्य गरी दुई देशबीचको सद्भाव बढाउने प्रतिबद्धता गरेका छन् ।
नेपाली पक्षबाट कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खड्का र भारतीय पक्षबाट लखिमपुर खिरिका डिएम र्सिंहं, पिलिभितका डिएम अलिसकुमार मिश्र तथा नेपाल भारत सीमा सर्वे टोलीका प्रमुखहरूले नेपाल र भारत सीमा सर्वेका विषयमा छलफल गरेका थिए । बैठकमा सीमावर्ती भारत तथा नेपालका उच्च सुरक्षा अधिकारीहरूको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार