२ माघ २०८१, बुधबार

नगरसभाद्वारा १० वटा कानुन पारित



धनगढी । धनगढी उपमहानगरपालिकाको दोस्रो नगरसभाले १० वटा कानुन स्वीकृत गरेको छ । शनिबार बसेको दोस्रो नगरसभा बैठकले तत्काल आवश्यक पर्ने १० वटा कानुन स्वीकृत गरेको जनाइएको छ ।
स्थानीय निर्वाचन भएको आठ महिना बढी वितिसक्दा पनि आवश्यक कानुन नबनेका कारण काम गर्न कठिनाई भइरहेको थियो । जनप्रतिनिधिहरूले नगर सभाले कानुन निर्माण गरेपछि काम गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।
दोस्रो नगरसभाले प्रशासकीय कार्यविधि नियमावली गर्न बनेको विधेयक, शिक्षा विधेयक, सहकारी, सार्वजनिक निजी साझेदारी, फोहोरमैला व्यवस्थापन विधेयक स्वीकृत गरेको छ ।
त्यस्तै, नगरसभाले आर्थिक कार्यविधि नियममित तथा व्यवस्थित गर्न बनेको विधेयक, न्यायिक समिति कार्यविधि विधेयक, नगरपालिका कृषि व्यवसाय प्रवद्र्धन विधेयक, आर्थिक ऐन २०७४ संशोधन गर्न बनेको विधेयक र विनियोजन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
त्यस्तै, नगरसभाले नारायण पाण्डेको संयोजकत्वमा लेखा समिति र छत्र बडेलाको संयोजकत्वमा सुशासन समिति गठन गरेको छ ।
उपमहानगरपालिकाले तत्काल आवश्यक पर्ने कानुनमध्ये नगरसभा सञ्चालन, आर्थिक सहायता, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत सम्बन्धी कार्यविधि पारित गरिसकेको छ ।
त्यस्तै, टोल विकास संस्था निर्देशिका निर्णयको आदेश अधिकारपत्र, प्रमाणीकरण नियमावली, ज्येष्ठ नागरिक परिचयपत्र निर्देशिका, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, स्थानीय राजपत्रको नमुना र स्थानीय तहको वार्षिक योजना बजेट दिग्दर्शन कार्यपालिका बैठकबाट पास भइसकेका छन् ।
संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारहरूको सूची उल्लेख छ ।
स्थानीय कानुनका कुनै प्रावधान प्रदेश कानुनसँग बाँझिन गएमा त्यस्ता प्रावधान स्वत: प्रदेश कानुनअनुसार खारेज हुने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार