अनुहार उस्ताउस्तै
काठमाडौँ । केही साताअघि बलिउड अभिनेता आमिर खानको नयाँ फिल्म ‘ठग्स् अफ हिन्दुस्तान’ को गीत सुटिङ भइरहेका बेलाका अनौठा तस्बिरहरू बाहिरिए ।
तस्बिरमा आमिरको लामो जुँगा र लामै कपाल देखिन्थ्यो । हरेक फिल्ममा फरक लुकको प्रयोग गर्ने उनको यस फिल्मको लुकलाई लिएर धेरैले तारिफ गरे । केही दिनअघि उक्त फिल्मको फस्ट लुक भन्दै इन्टरनेटमा आमिरसँगै उक्त फिल्ममै अभिनय गरेका अभिनेता अमिताभ बच्चनका पनि तस्बिर सार्वजनिक भए ।
तस्बिरमा दुवै जना चिन्नै नसकिने र अनौठो गेटअप अपनाएको भन्दै थुप्रैले प्रशंसा पनि गरे । तर, ती तस्बिर न त आमिरका थिए, न अमिताभका नै । आमिरको भनिएको तस्बिर भारतीय मोडल दलजित सिन सिंहको थियो भने अमिताभको भनिएको फोटो चर्चित फोटोग्राफर स्टिभ म्याक्करीले पाकिस्तानमा खिचेको ६८ वर्षीय अफगानी शरणार्थी शाबुजको थियो ।
आमिरको अनुहार हलिउड अभिनेता टम हयाङससँग मिल्ने बताइन्छ । अमिताभ श्रीदेवीसित स्क्रिन सेयर गरेको फिल्म ‘खुदा गवाह’ मा पनि यस्तै लुकमा देखिएका थिए । केही समयअघि अमिताभ फिल्मको सुटिङका क्रममा बिरामी भएको खबर पनि सार्वजनिक भएको थियो । धेरैले बिरामी भएकाले दुब्लाएको हुन सक्ने अड्कलबाजी गरे तर तस्बिर शरणार्थी शाबुजकै थियो ।
नेपालमा पनि केही समयअघि अभिनेता अनमोल केसी जस्तै देखिने भन्दै अभिषेक श्रेष्ठको तस्बिर र भिडियोको चर्चा चलेको थियो । अभिषेक मोडल पनि हुन् तर उनले अनमोलको फलो नगर्ने अन्तर्वार्ताहरू दिएका थिए । त्यस्तै गरी भारतीय अभिनेता टाइगर श्राफ जस्तै देखिने नेपाली युवाको पनि चर्चा चलेको थियो । नेपाली राइडर्स नाम गरेका ती युवाले टाइगरजस्तै डान्स गरेका भिडियोहरू पनि सार्वजनिक भएका थिए । यस मामिलामा बलिउडका सलमान खानको नाम पनि उत्तिकै आउँछ । उनले अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सम्बन्ध टुटेपछि फिल्म ‘लक्की’ मार्फत ऐश्वर्याजस्तै देखिने स्नेहा उल्लाललाई बलिउड प्रवेश गराएका थिए । कट्रिना कैफसँगको सम्बन्ध टुंगिएपछि पनि उस्तै अनुहार भएकी जरिन खानलाई फिल्ममा भित्र्याएका थिए । ‘इन्डियाज गट टयालेन्ट–६’को जुरीमा रहँदा मलाइका अरोरा खान र उनीजस्तै देखिने पूजा एकै साथ स्टेजमा देख्दा पनि दर्शक चकित भएका थिए । हलिउड अभिनेत्री एन्जेलिना जोली र भारतीय अभिनेत्री ईशा गुप्ताको पनि अनुहार मिल्ने टिप्पणीहरू धेरै आएका थिए ।
इकान्तिपुर