३ माघ २०८१, बिहीबार

सीमामा सेनाको गस्ती



दार्चुला । केही हप्ताअघि भारतीय पक्षबाट महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेनाले उक्त क्षेत्रमा गस्ती सुरु गरेको छ ।
दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मबाट सेनाको टोली सीमाक्षेत्रमा गस्ती गर्न निस्केको छ । सोमबार विहान वस्दोवस्तीसहित सेनाको टोली महाकाली किनारैकिनार भएर उत्तरतर्फ लागेको खलंगाका स्थानीयले बताएका छन् ।
सीमाक्षेत्रका समाचार सार्वजनिक भएपछि सेनाले उक्त क्षेत्रको स्थलगत सुरक्षा गस्ती गर्न लागेको जिल्लास्थित सुरक्षास्रोतको भनाई छ । राष्ट्रिय सञ्चारमाध्यममा महत्वका साथ सीमामा भारतीय पक्षबाट भएको संरचना निर्माणको खबर आएपछि नेपाली सेनाको ध्यानाकर्षण भएको धेरैको बुझाइ छ । जिल्लास्थित नेपाली सेनाको गुल्मलाई माथिल्लो सैनिक तहबाट तत्काल सीमाक्षेत्रमा गस्ती गर्न निर्देशन आएको सुरक्षा स्रोतको भनाई छ ।
स्रोतका अनुसार अधिकृतस्तरका कमाण्डरको नेतृत्वमा सेनाको टोली महाकाली नदी किनार क्षेत्रमा गस्तीमा निस्किएको हो । सेनाको करिब ५० जनाको टोली व्यासक्षेत्रसम्म गस्ती गर्न निस्केको स्रोतको भनाई छ । हतियार र आवश्यक वस्दोवस्तीका सामानसहित सेनाको टोली सदरमुकामबाट सोमबार उत्तरतर्फ गएको खलंगाको बंगाबगडका स्थानीय व्यवसायी मदनसिह धामीले बताए । सेनाको टोलीको भारी र व्यवस्थापन हेर्दा लामो दूरीसम्म गस्तीमा निस्केको हुनसक्ने उनले बताए ।
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले नेपाली सेनाको टोलीले सीमाक्षेत्रमा गस्ती गर्नु सान्दर्भिक र महत्वपूर्ण पक्ष भएको बताए र्। भारतीय पक्षबाट एकतर्फी संरचना बनाएको बेला नेपाली सेनाले गस्ती गर्नु धेरै राम्रो हो’ उनले भनेर्, यसले मातृभूमिप्रति श्रद्धा र प्रेम भएका सबैलाई हौसला दिएको छ ।’
जिल्लास्थित सुरक्षास्रोतका अनुसार प्रत्येक वर्ष नेपाली सेनाले सीमाक्षेत्रमा लामो गस्ती गर्नेगरेको छ । गत वर्ष पनि चैत्र महिनाको मध्यतिर सेनाले व्यासक्षेत्रमा गस्ती गरेको थियो । गत वर्ष गस्तीमा निस्केको सेनाको टोलीमा एकजना सुरक्षाकर्मी विरामी परेपछि कुन्तीसाउ क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । कुन्तिसाउभन्दा अगाडि हिमपातका कारण हिड्न समस्या भएपछि सेनाको टोली फर्किएको थियो ।
दुई वर्षअघि भने नेपाली सेनाको टोली व्यासको छाङरु हुँदै तिंकरसम्म पुगेको थियो । आवश्यक बस्दोवस्तीका सामान र हतियारसहित सेनाको टोलीले सीमाक्षेत्रमा वर्षेनि गस्ती गर्दैआएको सुरक्षा स्रोतले बतायो । यसपटकको गस्ती टोली पनि व्यासक्षेत्रसम्म पुग्ने अनुमान छ । सेनाको टोली कम्तिमा पनि हालै भारतले बनाएका काठेपुल र सडक भएको क्षेत्रमा पुग्ने स्रोतको भनाई छ । सेनाको टोली १०–१५ दिनसम्म सीमाक्षेत्रमा गस्ती गर्ने स्रोतले बतायो । विगतका वर्षमा चैत्र वैशाख महिनामा गस्ती गर्ने नेपाली सेनाले यसपटक भने फागुनमै गस्ती गर्दैछ । सीमाक्षेत्रमा भारतले एकतर्फी संरचना बनाएको विषयले चर्चा पाइरहेका बेला नेपाली सेनाले गस्ती गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार