दुई सय बढि सरकारी कर्मचारीले अवकाश लिँदै
धनगढी । कैलालीमा दुई सय बढी सरकारी कर्मचारीले अवकाश लिने भएका छन् । सरकारले संघ, प्रदेश र स्थानीय सरकारमा समायोजन हुन नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेपछि जिल्लामा मात्रै दुई सय बढिले जागिर छोड्ने भएका छन् ।
७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव बिष्णुसिंह बिष्ट, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव देवेन्द्रबहादुर कार्की, महिला तथा बालबालिका कार्यालयकी कार्यालय प्रमुख सन्ध्या सिंह, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद आचार्य सहित दुई सय नौ जनाले अवकाश लिन चाहेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ ।
कैलाली जिल्ला प्रशासन कार्यालयले अघिल्लो सोमबारदेखि स्वेच्छिक अवकाशका लागि कर्मचारीहरूबाट आवेदन संकलन कार्य शुरु गरेको थियो । आवेदन संकलन गर्ने कार्य आइतबार सकिएको छ । अवकाश लिनेमा मन्त्रालयका सचिवसम्म रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा दुर्गादत्त पन्तले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता गराउनेमा सबैभन्दा बढी स्वास्थ्य निकायका कर्मचारी रहेका छन् ।
स्वास्थ्य विभाग अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका १८ जना, सेती अञ्चल अस्पतालका ११, टीकापुर अस्पतालका चार र क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका तीन गरी ३६ जना कर्मचारीले स्वेच्छिक अवकाशका लागि आवेदन दर्ता गराएका छन् ।
त्यस्तै, जिल्ला हुलाक कार्यालयबाट पनि अवकाश चाहने कर्मचारीको संख्या अधिक रहेको छ । जिल्ला हुलाक कार्यालयबाट अवकाशका लागि ३५ जनाले निवेदन दिएका छन् ।
लामो समयपछि समायोजनमा जान नचाहने वा अनुकूल नभएका तथा सेवा अवधि २० वर्ष र उमेर ५० पुगेका कर्मचारीले स्वेच्छिक अवकाश रोज्न सक्ने व्यवस्था गरिएको थियो । सरकारले कर्मचारी समायोजन ऐनअनुसार तीन तहका सरकारमा कर्मचारीको स्थायी प्रबन्ध मिलाउने कदमको रूपमा अवकाशको प्रावधान अघि सारेको जनाइएको छ ।
स्वेच्छिक अवकाश लिने कर्मचारीले १५ लाख देखि र ३५ लाख रुपैयाँसम्म प्राप्त गर्ने बताइएको छ ।




