२ माघ २०८१, बुधबार

सांसद रेशमद्वारा प्रशासनमा निवेदन दर्ता



धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीले निर्वाचित भएको प्रमाणपत्र र सपथ ग्रहण कार्यक्रममा उपस्थित हुने आवश्यक व्यवस्था गरी पाउँ भनी जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन् ।
कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीले बुधबार कारागारबाटै १० रुपैयाँको टिकट टाँस गरेर फागुन २० गते हुने सांसदको सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन पाउँ भनि निवेदन दर्ता गराएको जनाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सांसद रेशमलालले कारागारबाटै निवेदन दर्ता गराएको पुष्टि गरे । प्रमुख जिल्ला अधिकारीले उनले दर्ता गराएको निवेदन जस्ताको तस्तै संघीय संसद सचिवालयमा पठाउने बताए ।
रेशम राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनमा भनिएको छ– ‘म निवेदक थुनछेक आदेशले मात्र कारागार रहेको र कुनै पनि फौज्दारी कसुर प्रमाणित नभएको अवस्थामा कैलाली निर्वाचन क्षेत्र नम्बर १ को जनप्रतिनिधिको हैसियतले सपथ ग्रहण कार्यक्रममा उपस्थित हुने आवश्यक व्यवस्था मिलाई पाउँm ।’
निवेदनमा उनले नेपालको संविधानको धारा १८ तथा धारा २० (५) मा भएको व्यवस्था उल्लेख गर्दै सो व्यवस्था अनुसार आफूले सपथ ग्रहण कार्यक्रममा भाग लिन पाउने तथा प्रमाणपत्र पाउनु पर्ने जिकिर गरेका छन् ।
संविधानको धारा १८ मा ‘सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ ।
त्यस्तै, धारा २० (५) मा ‘कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन’ भन्ने व्यवस्था छ ।
सांसद रेशमले निवेदनमा आफू ३४ हजार तीन सय ४१ मतले विजयी भएको र मानबहादुर बोहराको जाहेरीले नेपाल सरकार वादी र आफू प्रतिवादी रहेको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा अदालतको थुनछेक आदेश अनुसार पुर्पक्षका लागि कारागारमा रहेको उल्लेख गरेका छन् ।
उनले सो निवेदन संसद सचिवालयमा पनि कारागारबाटै दर्ता गराएका छन् ।
यसैबीच, राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ ग्रहण गर्ने व्यवस्था गर्न माग गरेको छ ।
राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले सांसद रेशमलाई सपथ लिने र संघीय संसदको काम कारवाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
आगामी आइतबार संघीय संसदमा निर्वाचित सदस्यहरूको सपथ ग्रहण कार्यक्रम रहेको छ ।
संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको कामकार्वाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको जनाइएको छ ।
कानुन व्यावसायीहरू भने ‘फौज्दारी अभियोगमा न्यायिक हिरासतमा रहेको अभियुक्तलाई अरू कुनै पनि सरकारी निकायले कुनै पनि कामका लागि मुक्त गर्न नसक्ने’ बताउँछन् ।
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते भएको हत्याकाण्डको मुख्य योजनाकारको अभियोग लागेका सांसद रेशमलाललाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार चलान गरिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालले सांसद रेशमलाललाई सुरक्षाको उचित प्रबन्ध गरी सपथ गराउने व्यवस्था गर्न संघीय संसदसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार