२ माघ २०८१, बुधबार

दुई सय बढी कर्मचारीद्वारा स्वेच्छिक अवकाशमा जाँदै



धनगढी । कैलालीमा मंगलबारसम्म करिब दुई सय सरकारी कर्मचारीहरूले स्वेच्छिक अवकाशका लागि आवेदन दिएका छन् ।
सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकारमा समायोजन हुन नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेको छ ।
७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव बिष्णुसिंह बिष्ट, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सहसचिव देवेन्द्रबहादुर कार्की सहित एक सय ९१ जना कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार सोमबारदेखि स्वेच्छिक अवकाशका लागि कर्मचारीबाट आवेदन संकलन कार्य शुरु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता गराउनेमा सबैभन्दा बढी स्वास्थ्य निकायका कर्मचारी रहेको छ । स्वास्थ्य विभाग अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका १८ जना, सेती अञ्चल अस्पतालका ११, टीकापुर अस्पतालका चार र क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका तीन गरी ३६ जना कर्मचारीले स्वेच्छिक अवकाशका लागि आवेदन दर्ता गराएको जनाइएको छ ।
त्यस्तै, कामबिहीन अवस्थामा रहेको जिल्ला हुलाक कार्यालयबाट पनि अवकाश चाहने कर्मचारी अत्याधिक रहेको छ । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा दुर्गादत्त पन्तका अनुसार जिल्ला हुलाक कार्यालयबाट ३५ जना कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता गराएका छन् ।
कैलालीमा रहेको हेभी ईक्युपमेन्ट कार्यालय गोदावरीका १३, मत्स्य विकास कार्यालयका आठ, पशु कार्यालयका १०, भन्सार कार्यालयका छ, जिल्ला प्रशासन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, क्षेत्रीय सिंचाई निर्देशनालय, जिल्ला प्राविधिक कार्यालय, मालपोत कार्यालय धनगढी र घरेलु तथा साना उद्योग कार्यालयका चार/चार, मालपोत कार्यालय टीकापुरका दुई कृषि कार्यालयका १० जना कर्मचारीले निवेदन दर्ता गराएका छन् ।
त्यस्तै, क्षेत्रीय निर्वाचन कार्यालय, जल उत्पन्न कार्यालय, भूमिगत जलस्रोतका दुई/दुई, कोष तथा लेखा नियन्त्रण कार्यालयका तीन, महिला तथा बालबालिका कार्यालय, क्षेत्रीय वन तालिम निर्देशनालय, नापी कार्यालय धनगढी र टीकापुर एक/एक जना रहेका छन् ।
कैलाली जिल्ला प्रशासन कार्यालयमा सोमबारसम्म एक सय २० जना कर्मचारीले स्वेच्छिक अवकाशका लागि नाम दर्ता गराएका थिए । त्यस्तै, मंगलबार ७१ जनाको नाम दर्ता गरिएको छ ।
कैलालीमा टीकापुर, भजनी र गोदावरी नगरपालिका तथा जानकी गाउँपालिकाबाट पनि स्वेच्छिक अवकाशका लागि आवेदन परेको छ । ती स्थानीय तहबाट क्रमश: तीन, एक, दुई र एक जनाले आवेदन दिएका छन् । जिल्ला समन्वय समिति कैलालीका एक जना कर्मचारीले निवेदन दर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा पन्तले जिल्लामा झण्डै स्वेच्छिक अवकाशका लागि तीन सय भन्दा बढी कर्मचारीले निवेदन दिने अनुमान व्यक्त गरे ।
सरकारले पुस ९ गते खण्ड ६७ संख्या ५० नेपाल राजपत्र भाग ५ मा स्वेच्छिक अवकाशका लागि व्यवस्था गरेपछि फागुन १३ अर्थात् आइतबारसम्म सम्बन्धित कार्यालयमै कर्मचारीहरूले निवेदन दर्ता गराइरहेका थिए । सोमबारदेखि सम्बन्धित कार्यालयले अवकाश चाहने कर्मचारीहरूको विवरणहरू जिल्ला प्रशासन कार्यालयमा पठाउन शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक हप्ता अर्थात् फागुन २० गते सो विवरण सामान्य विकास मन्त्रालयमा पठाउने कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘समायोजनमा जान नचाहने वा अनुकूल नभएका तथा सेवा अवधि २० वर्ष र उमेर ५० पुगेका कर्मचारीले स्वेच्छिक अवकाश रोज्न सक्ने व्यवस्था गरिएको छ ।’
सरकारले कर्मचारी समायोजन ऐनअनुसार तीन तहका सरकारमा कर्मचारीको स्थायी प्रबन्ध मिलाउने कदमको रूपमा अवकाशको प्रावधान अघि सारेको थियो । समायोजनमा जान चाहने कर्मचारीले प्राथमिकताअनुसार विभिन्न विकल्प रोज्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार