सन्नीको बहानामा सामुहिक आत्मदाहको चेतावनी
पोर्न फिल्मको पृष्ठभूमि भएकी अभिनेत्री सन्नी लियोनी बलिउडमा राम्रैसँग स्थापित भइसकेकी छिन् । तर भारतीय समाजले उनलाई अझैसम्म पचाउन सकेको छैन ।
हालै बैंगलौरमा एउटा समुहले सन्नी लियोनीको बहानामा सामुहिक आत्मदाहको चेतावनी दिएको छ । सन्नीले ३१ डिसेम्बरको रातमा बैंगलौरमा आयोजना हुने न्यू इयर इभ प्रोग्राममा विशेष प्रस्तुति दिने कार्यक्रम छ । त्यसको स्थानीय स्तरमा तिव्र विरोध भइरहेको छ ।
बैंगलौरमा सन्नीको विरोधमा उत्रिएको प्रो कन्नड ग्रुप ‘कर्नाटक रक्षना वेदिका युवा सेना’ ले १५ जिल्लामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो । यस दौरानमा सडकमा नारावाजी तथा सन्नीको पोष्टर जलाउने काम भइरहेको छ । यसैबीच उक्त युवा सेनाले धम्की दिएको छ कि यदि सन्नीको कार्यक्रम रद्द गरिएन भने सेनाका सदस्यहरुले सामुहिक आत्मदाह गर्नेछन् ।
विरोध प्रदर्शन गरिरहेको समुहका महासचिव सइद मिनाजले भने, ‘सन्नी भारतीय होइनन् । उनको बारेमा सबैलाई थाहा छ कि उनी पहिले कहाँ थिइन् र के काम गर्थिन् । यस्ती युवतीलाई ल्याएर कार्यक्रम गर्नु हाम्रो संस्कृतिको अपमान हो ।’
सन्नीको कार्यक्रमको विरोध भएको यो पहिलोपटक होइन । अघिल्लो वर्ष पनि यसै समुहले उनको विरोधमा प्रदर्शन गरेको थियो । त्यसो त सन्नीले कन्नड फिल्ममा अतिथि भूमिका निर्वाह गरिसकेकी छिन् ।
हालै मात्र सन्नीले अभिनय गरेको एउटा विज्ञापन पनि विवादमा फसेको थियो । सन्नीमाथि सांस्कृतिक मान्यतालाई उल्लंघन गरेको आरोप लगाउँदै केन्द्र सरकारमा उजूरी परेको थियो । म्यानफोर्सको तर्फबाट गुजरातका केही स्थानमा नवरात्रीको शुभकामना सन्देशका साथ सन्नीको तस्वीर भएका होर्डिङ बोर्ड लगाइएका थिए । उक्त होर्डिङ बोर्ड अश्लिल भएको भन्दै हटाउनका लागि केन्दि्रय मन्त्री समक्ष उजुरी गरिएको थियो ।