कांग्रेसको १५ औँ महाधिवेशन: गुटगत जित होइन, ‘साझा विजय’ र एकताको विकल्प छैन— प्रदेश महामन्त्री शाह
धनगढी/ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले पार्टीको १५औँ महाधिवेशनलाई गुटगत विजय वा पराजयको रूपमा नलिन आग्रह गर्दै बृहत् पार्टी एकताका लागि साझा सहमतिको मोडालिटी प्रस्ताव गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेसभित्र अहिले कुनै एक पक्षलाई हराउने वा सिध्याउनेभन्दा पनि सबैलाई समेटेर अघि बढ्ने व्यावहारिक सूत्रको आवश्यकता रहेको औँल्याएका छन्।
महामन्त्री शाहले हालैका राजनीतिक घटनाक्रम र नेताहरूको भूमिकालाई विश्लेषण गर्दै १५औँ महाधिवेशन कांग्रेसको पुनः एकताको महाधिवेशन बन्नुपर्नेमा जोड दिएका छन्।
डा. शेखर कोइरालाको भूमिका निर्णायक र मध्यस्थको रूपमा महामन्त्री शाहका अनुसार नेपाली कांग्रेसको पार्टी पंक्तिमा डा. कोइरालाको भूमिका सुदृढ र निर्णायक बन्दै गएको छ। सभापति गगन थापाका प्रस्तावलाई मात्र स्वीकार गर्नुको सट्टा संस्थापन पक्ष (देउवा पक्ष) लाई समेत समेटेर समाधान खोज्नुपर्ने धारणा डा. कोइरालाले राख्दै आएका छन्। यसले उनलाई कुनै एउटा गुटको मात्र नभई सम्भावित मध्यस्थ र सहमतिको केन्द्रका रूपमा उभ्याएको छ। “मलाई पद चाहिँदैन, पार्टी एकता चाहिन्छ” भन्ने लाइनलाई उनले व्यवहारमै प्रमाणित गर्न सके १५औँ महाधिवेशनमा उनको राजनीतिक उचाइ अझ उच्च बन्ने शाहको ठहर छ।
देउवाको “ग्रेसफुल एक्जिट” र सम्मानको प्रश्न निवर्तमान सभापति शेरबहादुर देउवाको राजनीतिक भविष्य र सम्मानको विषयलाई लिएर शाहले पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। देउवालाई अपमानित वा पूर्णतः विस्थापित गरिएको अनुभूति गराइएमा उनका समर्थकहरू सहमतिमा आउन कठिन हुने र त्यसले पार्टीभित्रको खाडल अझ गहिरो बनाउने उनको चेतावनी छ। महाधिवेशनको उद्घाटन सभापतित्व र समापन सम्बोधन जस्ता विकल्पहरूलाई सम्मानजनक राजनीतिक निकासका रूपमा उपयोग गर्न सकिने उनले सुझएका छन्। देउवा पक्षलाई बाहिर राखेर बनाइने कुनै पनि संयन्त्रले वैधानिकता र संस्थागत स्वामित्वको प्रश्न खडा गर्ने उनको तर्क छ।
पार्टीभित्र देखिएको शक्तिसंघर्षलाई समाधान गर्न महामन्त्री शाहले “देउवाको सम्मानजनक विदाइ, गगनको नेतृत्वमा महाधिवेशनको तयारी, डा. शेखरको संयोजनमा निष्पक्ष महाधिवेशन – सबै पक्षको सहभागिता।” को सुत्र अघि सार्नु भएको छ ।
यसको अर्थ देउवालाई हराएर होइन सम्मानपूर्वक विदा गरेर, गगनलाई कमजोर बनाएर होइन संस्थागत रूपमा बलियो बनाएर, र डा. शेखरलाई गुटको नेता मात्रै सीमित नराखी सहमतिको सेतु बनाएर १५औँ महाधिवेशनमा जानुपर्ने उनको जिकिर छ।
कांग्रेसलाई अर्को गुटीय विजय होइन, साझा विजय चाहिएको छ “गगनले जिते पनि कांग्रेस हार्नु हुँदैन, देउवा बाहिरिए पनि देउवा पक्ष हार्नु हुँदैन, र शेखर मध्यस्थ बने पनि उनी कुनै पक्षको विरुद्ध उभिएको देखिनु हुँदैन,” महामन्त्री शाहले उल्लेख गरेका छन्। कसैको जित र कसैको हारभन्दा कांग्रेसको एकता र भविष्य ठूलो भएको भन्दै उनले यो सूत्रमा सहमति जुट्न सके १५औँ महाधिवेशन कांग्रेसको ऐतिहासिक पुनः एकताको महाधिवेशन बन्ने विश्वास व्यक्त गरेका छन्।




