१८ भदौ २०८३, बिहिबार

नुवाकोटमा एमाले स्वयंसेवकको ‘फिल्ड अभियान’



नुवाकोट/ बाढीपहिरोले घर–आँगन पुरिएका छन्। कतै हिलो र लेदो थुप्रिएको छ, कतै प्रभावित परिवार राहतको पर्खाइमा छन्। यहीबीच नेकपा एमालेका केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत भने नुवाकोटको प्रभावित बस्तीमा स्वयंसेवकसँगै श्रममा जुटेका छन्।

राहत सामग्री बाँड्ने र प्रभावित क्षेत्रको अवस्था बुझ्ने काममा मात्रै सीमित नरही बस्नेत स्वयं घर–आँगन सफा गर्ने काममा सहभागी भएका हुन्। स्वयंसेवकसँगै उनले हिलो सोहोरे, फोहोर उठाए र प्रभावित घरको सरसफाइमा हातेमालो गरे।

एमालेले बागमती प्रदेशमा सञ्चालन गरेको विपद् व्यवस्थापन तथा राहत–उद्धार अभियानको नेतृत्व बस्नेतलाई दिएको छ। अभियानअन्तर्गत करिब एक सय स्वयंसेवक नुवाकोटसहित प्रभावित क्षेत्रमा परिचालित छन्। उनीहरू राहत वितरण, उद्धार, सरसफाइ र निःशुल्क खाना सेवामा सक्रिय छन्।

नुवाकोटमा नेशनल भोलेन्टियर फोर्स र नेपाल खेलकुद महासंघका स्वयंसेवक टोली परिचालन गरिएको छ। नेशनल भोलेन्टियर फोर्सका अध्यक्ष पुष्प श्रेष्ठ र नेपाल खेलकुद महासंघका अध्यक्ष दिपेन्द्र दाहालले स्वयंसेवक परिचालनको समन्वय गरिरहेका छन्।

निरीक्षण गर्न पुगेका बस्नेत आफैँ काममा
प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका बस्नेतले स्वयंसेवकको काम नियालेर मात्र फर्किएनन्। उनी पनि सरसफाइमा जोडिए।

घरभित्र पसेको हिलो निकाल्नेदेखि आँगनमा थुप्रिएको फोहोर हटाउनेसम्मको काममा उनी स्वयंसेवकसँगै देखिए। नेतृत्व तहको व्यक्ति प्रत्यक्ष श्रममा जोडिएपछि स्वयंसेवकमा पनि थप उत्साह देखिएको अभियानमा सहभागीहरूको भनाइ छ।

बस्नेतले विपद्का बेला राजनीतिक बहसभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने बताए।

“यो मानवियता देखाउने बेला हो। हामी जनताको पीडामा साथ दिन मैदानमा आएका छौँ,” उनले भने।

उनले सरकारको कामप्रति टिप्पणी गर्दै विपद्को समयमा आफूहरू प्रभावितको घरदैलोमै पुगेर काम गरिरहेको दाबी गरे।

“सरकार सामाजिक सञ्जालमा देखिन्छ, हामी मैदानमा छौँ। हामी पीडामा छौँ, जनताको साथमा छौँ,” बस्नेतले भने।

सरसफाइका क्रममा भेटिएको रकम घरधनीलाई
एमाले स्वयंसेवकको अभियानका क्रममा नुवाकोटमा एउटा फरक घटना पनि भएको छ। प्रभावित घर सफा गर्ने क्रममा स्वयंसेवकले फेला पारेको करिब साढे तीन लाख रुपैयाँ सम्बन्धित घरधनीलाई फिर्ता गरेका छन्।

बाढीपहिरोले अस्तव्यस्त बनाएको घर सफा गर्ने क्रममा रकम भेटिएपछि स्वयंसेवकले त्यसलाई सुरक्षित राखी सम्बन्धित परिवारलाई बुझाएका हुन्।

राहत र उद्धारका बीच भेटिएको रकम फिर्ता गरिएको घटनालाई स्वयंसेवकहरूले मानवीय सेवासँगै इमानदारीको विषयका रूपमा लिएका छन्।

शव पहिचान गर्न आउने परिवारलाई पनि खाना
अभियानअन्तर्गत प्रभावित र विस्थापित परिवारका लागि निःशुल्क खाना वितरणको व्यवस्था गरिएको छ। उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवकसँगै आफन्तको शव लिन वा पहिचान गर्न प्रभावित क्षेत्रमा पुग्ने परिवारलाई समेत खाना उपलब्ध गराइएको छ।

बाढीपहिरोपछि लामो समयसम्म प्रभावित क्षेत्रमा बस्नुपर्ने परिवारका लागि खानाको समस्या देखिएपछि स्वयंसेवकले खाना शिविर सञ्चालन गरेका हुन्।

राहत सामग्री वितरणसँगै प्रभावितको तत्काल आवश्यकता पहिचान गर्ने, घर सफा गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने कामलाई अभियानले प्राथमिकता दिएको जनाइएको छ।

ओली पनि नुवाकोट जाने
एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार नुवाकोट जाने कार्यक्रम रहेको छ। उनले बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्नुका साथै पार्टीका स्वयंसेवकले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानको अवलोकन गर्ने बताइएको छ।

एमालेले शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयबाट नुवाकोट र रसुवाका बाढीपीडितका लागि राहत सामग्री पठाउने तयारीसमेत गरेको छ। राहत सामग्री अध्यक्ष ओलीको उपस्थितिमा पठाइने जनाइएको छ।

रसुवा, नुवाकोट र धादिङमा समन्वय संयन्त्र
राहत, उद्धार र पुनःस्थापनाको कामलाई व्यवस्थित बनाउन एमालेले रसुवा, नुवाकोट र धादिङमा जिल्ला तहका सहयोग समिति गठन गरेको छ।

केन्द्रीय नेतृत्वको निगरानी, जिल्ला तहको समन्वय र स्वयंसेवकको प्रत्यक्ष परिचालनमार्फत प्रभावित परिवारसम्म सहयोग पुर्‍याउने पार्टीको योजना छ।

बाढीपहिरोपछि तत्कालीन राहतसँगै प्रभावित घर, बस्ती र जनजीवन पुनःस्थापनाको चुनौती थपिएको छ। यही अवस्थामा एमालेले स्वयंसेवक परिचालन, श्रमदान, राहत वितरण र खाना सेवामार्फत प्रभावित क्षेत्रमा आफ्नो उपस्थिति बढाएको हो।

अभियानमा महेश बस्नेत स्वयं हिलोमा पसेर काममा जोडिनुले भने विपद्को समयमा नेतृत्वको भूमिकाबारे फरक दृश्य प्रस्तुत गरेको छ—आदेश दिने ठाउँमा बसेर होइन, प्रभावितको आँगनमै पुगेर नेतृत्व गर्ने।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार