१७ भदौ २०८३, बुधबार

रसुवागढी–केरुङ सडक पूर्ण रूपमा खुल्यो, अब भारी उपकरणसहित उद्धार तीव्र हुने



काठमाडौ/ रसुवागढी जोड्ने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध सडकको अन्तिम खण्डसमेत अस्थायी रूपमा खुलाइएपछि चीनतर्फबाट विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री लैजान सहज भएको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार बिहान १० बजेदेखि सडकमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि उद्धारकर्मी, राहत सामग्री, आवश्यक उपकरण र भारी मेसिनरीलाई स्थलमार्गबाटै प्रभावित क्षेत्रसम्म पुर्‍याउन सकिने भएको छ।

सडक खुलाउने क्रममा विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पहुँच स्थापित गरिएको बताइएको छ। त्यस क्षेत्रमा विभिन्न माध्यम र प्रविधिको समन्वयमा खोज तथा उद्धार अभियान अघि बढाइएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बाढीको पानीका कारण क्षतिग्रस्त भएर अवरुद्ध सडकको अन्तिम खण्डलाई तत्कालका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो। सडक खुलेसँगै ठूला तथा भारी उद्धार उपकरणसमेत प्रभावित क्षेत्रमा लैजान सकिने अवस्था बनेको छ।

यसअघि सडक अवरुद्ध हुँदा उद्धार तथा राहतका लागि आवश्यक भारी उपकरण प्रभावित क्षेत्रसम्म पुर्‍याउन कठिनाइ भइरहेको थियो। सडक सञ्चालनमा आएपछि उद्धार अभियानलाई थप प्रभावकारी र व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार