१७ भदौ २०८३, बुधबार

नायिका जल शाहको पहिलो फिल्म सम्झँदै प्रकाश सायमी : ‘त्यसपछि उनले वन टेकमै ओके गरिन्’



काठमाडौं / चलचित्रका जानकार तथा समीक्षक प्रकाश सायमीले दिवंगत नायिका जल शाहलाई सामाजिक सञ्जालमार्फत स्मरण गरेका छन्। उनले जल शाहको चलचित्र यात्राको सुरुवाती दिन सम्झँदै पहिलो फिल्मको पहिलो दृश्य छायांकन गर्दाको प्रसंग सार्वजनिक गरेका हुन्।

सायमीका अनुसार नायिकाका रूपमा जल शाहको पहिलो चलचित्र ‘अवतार’ हो। त्यसअघि उनले ‘श्री स्वस्थानी’ मा सानो भूमिका निर्वाह गरेकी थिइन्।

‘अवतार’मा जल शाह अभिनेता राजेश हमालकी प्रेमिकाको भूमिकामा थिइन्। सायमीले संयोगवश उनको पहिलो दिनको छायांकनसमेत राजेश हमालसँगकै दृश्यबाट सुरु भएको स्मरण गरेका छन्। गोदावरी पार्कबाहिर मूल सडकमा छायांकन गरिएको उक्त दृश्यमा जल निकै नर्भस भएको उनले बताएका छन्।

धेरै रिटेक भएपछि आफूले जललाई सम्झाएको सायमीले उल्लेख गरेका छन्। उनले भनेका छन्, “राम्रो हुँदैछ। आत्तिनु पर्दैन।”

जललाई सहज बनाउन आफूले राजेश हमाललाई पनि प्रोत्साहन गरिदिन आग्रह गरेको सायमीको भनाइ छ। आफूले राजेशलाई ‘जललाई अलि हौसला बढाएर, तपाईं राम्रो गर्दै हुनुहुन्छ भनिदिनुस्’ भनेको उनले स्मरण गरेका छन्।

त्यसपछि नीर भवनमा भएको लञ्च कार्यक्रमका क्रममा राजेश हमालले जललाई अभिनयसम्बन्धी जिज्ञासा राखेको सायमीले बताएका छन्। राजेशले जललाई “तपाईंले नाटक पनि खेल्नुभएको छ कि क्या हो, कस्तो राम्रो गर्नुभएको?” भनेर सोधेको उनले उल्लेख गरेका छन्।

सायमीका अनुसार राजेशको त्यो हौसलापछि जलले अर्को दृश्य वन टेकमै ओके गरेकी थिइन्। उक्त क्षणमा त्यहाँ उपस्थित सीमान्त उदास, गौरी मल्ललगायत सबै छक्क परेको उनले स्मरण गरेका छन्।

सायमीले सामाजिक सञ्जालमा लेखेका छन्, “यो त्यही दिनको पहिलो सीन हो।”

जल शाह नेपाली चलचित्रकी चर्चित नायिकामध्ये एक थिइन्। ‘अवतार’बाट अभिनय यात्रा सुरु गरेकी उनले पछि थुप्रै नेपाली चलचित्रमा अभिनय गरेर दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार